
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी सभापति शेरबहादुर देउवाले लाइभ गर्ने निर्णय गरेदेखि नै यो विषय चर्चाको शिखरमा छ । सभापति देउवाले एकाएक बैठक किन लाइभ गर्ने निर्णय गरे होलान् भनेर सोच्ने र सोध्ने टन्नै रहिरहेका बेला बैठक लाइभ हेरेर मजा लिनेहरु पनि प्रशस्तै छन् । कांग्रेसको बैठक कतिपयले सूचनाका लागि लाइभ हेरिरहेका छन् त कतिपयले बैठकमा नेताहरुको प्रस्तुती हाउभाउ र भनाभनबाट इन्जोय पनि गरिरहेका छन् । नेपालको राजनीतिक इतिहासमा केन्द्रीय समितिको बैठक नै लाइभ गर्ने क्रान्तिकारी निर्णय गरेर सभापति शेरबहादुर देउवाले पार्टीभित्र र पार्टीबाहिर वाहवाही बटुलिरहेका छन् भने बैठक लाइभ हेरेर कतिपयले कांग्रेस केन्द्रीय समितिका नेताहरुको बुद्धिको लेभल पनि नापिरहेका छन् ।
बैठक लाइभ भइरहेको छ भन्ने हेक्का कतिपय केन्द्रीय सदस्यमा देखिएको भान हुँदैन त कतिपय केन्द्रीय सदस्यमा बैठक लाइभ भइरहेको छ भन्ने कुरामा चाहिँने भन्दा ज्यादा हेक्का हुँदा उनीहरुको मनको कुरा मनमै अड्किए झैं देखिन्छ । खुलेर बोल्न कतिपय केन्द्रीय सदस्य हच्किएका छन् । तर, बोल्ने अधिकांश केन्द्रीय सदस्य भने दुई खेमामा प्रष्ट बाँडिएका छन् । एउटा सभापति देउवा पक्षीय खेमा र अर्को महामन्त्री गगन थापा पक्षीय खेमा । यो बैठक दुई पक्षको दोहोरी जस्तै लाग्छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य कि त सभापति देउवाका पक्षमा न्वारनदेखिको बल लगाएर बोलिरहेका छन् कि त महामन्त्री गगन थापाका पक्षमा । बैठक एक अर्काको खेदो खन्नमै केन्द्रीत छ । बैठक हेर्दा लाग्छ यो कांग्रेस केन्द्रीय सदस्यहरुको दोहोरी हो ।
दोहोरीको एउटा पक्ष देउवातिर छ अनि अर्को पक्ष गगनतिर । बैठकको शुरुको दिन महामन्त्री गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन धुन्धानै राम्रो देखेर गगन थापाको प्रशंसा नै प्रशंसा गर्नेदेखि लिएर गगन थापाको प्रतिवेदनलाई गएगुज्रेको प्रतिवेदन भनेर आलोचना नै आलोचना गर्ने पनि कांग्रेस केन्द्रीय समितिको बैठकमा छन् । गगन थापाको प्रतिवेदन राम्रो देख्ने पक्षले देउवाको व्यापक आलोचनामा समय खर्चने गरेको छ । त्यो पक्षले देउवालाई बालकृष्ण खाँणको विषय निकालेर हुन्छ कि ललिता निवासमा किन मौनता साँधेको भन्ने प्रश्न गरेर हुन्छ आच्छुआच्छु नै पार्ने गरेको छ । देउवालाई आच्छुआच्छु पार्ने समुहलाई अर्को समुहले फेरि कुनै हालतमा छाडेको देखिन्नँ । त्यो समुहले गगन थापाको आलोचना यसरी गर्छ कि उसले गगन थापाको राम्रो भन्ने केही देख्दैन । अरु कुरै नगरौं केन्द्रीय समिति बैठकमा दुई दिनअघि बोलेकी केन्द्रीय सदस्य आरजु राणा देउवाको कुरा गरौं । केही केन्द्रीय सदस्यले गगन थापाको प्रतिवेदन धेरै गज्जबको भनिरहँदा उनले त्यसमा राम्रो भन्ने केही देखिनन् । उनले थापाको प्रतिवेदनलाई एनजीओको प्रतिवेदन भन्दा पनि गएगुज्रेको देखिन् ।
उनले गगन थापालाई बैठकमा सिधै भनिन्, महामन्त्रीज्यूको प्रतिवेदन भनेपछि मैले राजनीतिक प्रतिवेदन आउला भन्ने सोचेको थिएँ तर, यो त एनजीओको विसलिष्ट जस्तो देखियो । पार्टी महामन्त्रीले ल्याएको प्रतिवेदन पनि कहिँ यस्तो हुन्छ ? आरजु राणाले यसो भनिरहँदा गगन थापा पक्षधर नेताहरु भने थापाले ल्याएको प्रतिवेदनको बचाउ र जोडदार समर्थन गरिरहेका थिए । गगन थापाले ल्याएको प्रतिवेदनलाई निकै सुन्दर भनिरहेका थिए । गगन थापाको प्रतिवेदन अनुसार अघि बढ्ने हो भने कांग्रेसको भविष्य निकै उज्ज्वल हुने उनीहरुको तर्क थियो ।
कांग्रेसको बैठक हेर्नेले मात्रै होइन स्वयं बैठक भोग्ने नेताहरुलाई पनि यो पटकको केन्द्रीय समिति बैठक दोहोरी जस्तै लागेछ । शेरबहादुर देउवासँग गएको महाधिवेशनमा सभापति पदमा लडेका डा. शेखर कोइरालाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा नै यो वास्तविकता औंल्याए । उनले भने, केन्द्रीय समिति बैठक एक अर्कालाई दोषारोपण गर्ने कार्यक्रम जस्तो भयो, हामी गम्भिर भएर सोचौं । केन्द्रीय समिति बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो भएको भन्दै उनले गुनासो गर्नुले पनि यो बैठक देख्नेलाई जत्तिकै भोग्नेलाई पनि दोहोरी जस्तै अनुभूति भएको प्रष्ट हुन्छ ।
हुन त बैठकमा एउटाले भनेको कुरा अर्कोले पनि मान्नैपर्छ अनि हो मा हो मिलाउँनैपर्छ भन्ने होइन । आफूलाई ठिक लागे सहमति जनाउँन सकिन्छ ठिक नलागे असहमति । सबै कुरामा ताली मात्रै बजाइयो भने या गाली मात्रै गरियो भने ठिक पनि हुँदैन । तर, झण्डै एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण भइरहँदा नेताहरु आरोप प्रत्यारोपमा मात्रै उत्रिए भने चाहिँ तल्लो तहका कांग्रेस नेता र कार्यकर्ताहरुमा आशाको सञ्चार पक्कै हुँदैन ।