Logo
२८ असार २०८२, आईतवार
|  Sun Jul 13 2025

गृहमन्त्रीमाथि ओलीले किन गरे शंका ? खोजे सुन प्रकरणमा संलग्न नभएको प्रमाण


झण्डै साता लामो कम्बोडिया भ्रमणबाट फर्किएका एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि १०० केजी सुन प्रकरणमा शंकाको नजरले हेरेपछि यसले फेरि राजनीतिक बजार तातिएको छ ।

गृहमन्त्रीमाथि नै देशका पूर्वप्रधानमन्त्रीले शंकाको नजरले हेर्नुलाई कतिपयले आक्रोश, आग्रह र पूर्वाग्रहको नजरका रुपमा बुझेका छन् भने कतिपयले शंका गर्नुलाई अस्वभाविक भन्न नमिल्ने बताएका छन् । विमानस्थल भन्सारबाट सुन बाहिरिँदा समेत पत्तो नपाउँने गृहप्रशासन अचम्मकै भएको र प्रशासन माहतहतका निकायबीच भागशान्ति नहुँदा यो प्रकरण बाहिरिएको केहीको तर्क छ । सामान्य नागरिकले एउटा अतिरिक्त मोबाइल ल्याउँदा समेत ठ्याक्कै पत्ता लगाएर मोबाइल जफत गर्ने क्षमता राख्ने भन्सारका अधिकारीहरु सय सय केजी सुन बाहिरिँदा चाहिँ के मस्त निन्द्रामा थिए भन्दै केहीले प्रश्न पनि गरेका छन् ।

पूर्व गृहमन्त्री रवि लामिछानेले पनि गृह प्रशासनप्रति नै केहीदिनअघि यो प्रकरणमा प्रश्न उठाएका थिए । गृहमन्त्रालय र त्यो मातहतका निकायलाई यो विषयमा थाहा नभइ सुन बाहिरियो भन्ने कुरामा विश्वास गर्न नसकिने आशय उनको थियो । त्यसो त पूर्व गृहमन्त्री रवि लामिछानेको यो आशयको अभिव्यक्ति आएपनि उनको पार्टीले यो विषयमा थप बोलेन । तर, नेकपा एमालेका नेताहरुले भने यो विषयमा गृहमन्त्रीमाथि नै शंकाका नजर तेस्र्याइरहे । एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालका अध्यक्षले त गृहमन्त्री श्रेष्ठमाथि शंकामात्रै होइन, सिधा आरोप नै लगाए । आफूसँग गृहमन्त्रीको संलग्नताबारे स्रोत सहितको विशेष सूचना रहेको भन्दै उनले फेसबुकमा स्टाटस लेखे । त्यो स्टाटसले हंगामा मात्रै पिटेन गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले साइबर ब्युरो गुहा¥यो भने पत्रकारले म सँग सूचना छ भनेकै आधारमा साइबर ब्युरो गुहारेको भन्दै एमालेका भातृ संगठनहरुले राजधानीका सडक तताए । पछि प्रेस चौतारीका अध्यक्ष र गृहमन्त्रीबीच यो विषयमा एक प्रकारको सहमति भयो । चौतारीका अध्यक्षले गृहमन्त्रीलाई लगाएको आरोपबारे गल्ती महसुसको आशय सहित घुमाउरो पारामा फेसबुक स्टाटस लेख्दै गृहमन्त्रीसँग अंकमाल गरेको तस्बीर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे भने गृहमन्त्रीको सचिवालयले साइबर ब्युरोमा हालेको उजुरी फिर्ता लियो । त्यसपछि गृहमन्त्री र एमालेबीच सुन प्रकरणसम्बन्धि विवाद मत्थर भएको अनुमान गरियो । तर, विवाद केहीदिनलाई मत्थर भएपनि विवादको तुष मेटिएको रहेनछ भन्ने पुष्टि भने ओलीको पछिल्लो अभिव्यक्तिबाट भयो ।

कम्बोडियाबाट फर्किएका ओली विमानस्थलमा झर्नेबित्तिकै गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिए । सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन भन्ने प्रमाण देखाउँन उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ठाडो चुनौती दिए । सुन प्रकरणमा आफ्नो संलग्नता छैन भने गृहमन्त्रीले त्यसको प्रमाण देखाउँनुपर्ने या त्यसमा को संलग्न छ त्यो भन्नुपर्ने उनको भनाई थियो । देशको पूर्व प्रधानमन्त्री, विपक्षी दलको नेता जसले गृहमन्त्रीलाई चुनौती दिनुलाई सामान्य पनि मान्न सकिएला र असामान्य पनि । तर, जे जसरी गृहमन्त्रीमाथि संसदको विपक्षी दलका नेताले शंकाका नजरले हेरे यसले भने अनेकन प्रश्न उठाएको छ । हचुवाका भरमा एकले अर्काको खेदो खन्न, अर्काको बदनाम गर्न राजनीतिमा यस्ता कुरा गरिन्छन् या साँच्चै केही सूचना र प्रमाणका आधारमा प्रश्न तेस्र्याइन्छन् भन्ने थप प्रश्न उब्जिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको कदमले पछिल्लो समयमा जनस्तरमा वाहवाही कमाउँदै गइरहेका बेला सुन प्रकरणमा आइपुग्दा उनीमाथि नै देशका पूर्व प्रधानमन्त्री र उनको पार्टीले प्रश्न उठाएपछि यसले अनेकन प्रश्नको बिस्कुन फिँजाइदिएको छ । एकाथरीले भनेका छन् कि गृहमन्त्रीकै संलग्नताको आशंका विपक्षी दलले गर्नु गृहमन्त्रीको लोकप्रियतामाथिको डाहाबाहेक केही होइन, गृहमन्त्री भ्रष्टाचारका मामलामा निर्मम बन्दै गएपछि विपक्षी दल छट्पटाएको उनीहरुको बुझाई छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा होस् या ललिता निवास प्रकरणमा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चालेको कदमले विपक्षी दल तिल्मिलाएको उनीहरुको भनाई छ । पछिल्लो पटक १०० केजी सुन प्रकरणमा समेत गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै कोट र टारको आग्रहबाट पछि नहट्ने भन्दै कडा अभिव्यक्ति दिएपछि विपक्षी दल झस्किएको रुपमा केहीले लिएका छन् । कोट भनेको बालकोट र टार भनेको बालुवाटार । अनुसन्धान रोक्न बालकोटले भनेपनि मान्दिनँ र बालुवाटारले भनेपनि मान्दिनँ भनेर गृहमन्त्रीले बालकोटलाई अनाहकमा तानेपछि एमाले अध्यक्ष केपी शर्मा अ‍ोली रिसाएको केहीको बुझाई छ । त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काँक्राको बियाँ अर्काको गालामा टाँसिदिएर फुर्ति नपार्न भन्नुले पनि ओली नारायणकाजीसँग किन बिच्किए भन्ने कुरा बुझ्न त्यति धेरै घोत्लन पर्दैन । नारायणकाजीले बालकोटतिर इंगित गर्दै पछिल्लो अभिव्यक्ति नदिएको भए ओली यति धेरै रिसाउने थिएनन् भन्नेहरु बालकोट नजिककै छन् । सुन प्रकरण बाहिरिएको भोलिपल्ट त्रिभुवन विमानस्थल पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोट र टारको कुरा गरेका थिए । उनको यही अभिव्यक्तिले ओली आगो बनेको बालकोट स्रोतको भनाई छ ।

यता गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने विपक्षी दलका नेताको आक्रोश मात्रै आफूतिर तेर्सिएको नभई स्वयं सत्तारुढ दलकै नेताहरुले समेत आफ्नो राजीनामा मागेको खुलासा गरेका छन् । आफूले भ्रष्टाचारका मामलामा लिएको एक्सनबाट सत्तारुढ दलकै केही नेताहरु समेत तर्सिएको उनको भनाई छ । सत्तारुढ दलभित्र स्वच्छ मान्छे, भष्टाचारमा नमुछिएका मान्छे छन् नै भन्ने नरहेको भन्दै उनले आफ्नो राजीनामा माग्ने र आफूलाई हतोत्साहित गर्ने काम किन भइरहेको छ भनेर जनताले बुझेको बताए । मंगलबार बिहान गृहजिल्ला गोरखामा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । यसअघि सोमबार मात्रै राजधानीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै दलका नेताहरुलाई समेत भ्रष्टचार मामलामा नछाड्ने चेतावनी दिएका थिए । भ्रष्टाचारको कुनै जात, लिंग, धर्म नहुने भन्दै उनले जो कोही भएपनि आफूले आँखा चिम्लने बताएका थिए ।

गृहमन्त्रीको यही अठोटले उनलाई बदनाम गर्न खोजिँदैछ या उनी स्वयं कहिँ कतै चुकिरहेका कारण उनीमाथि प्रश्न उठाइदैछ त्यो भने भोलिका दिन प्रष्ट हुँदै जाला ।


प्रतिक्रिया दिनुहोस !
विचार