सुन तस्करी प्रकरणमा प्रमुख विपक्षी दल नेकपा एमालेले आज सदनमार्फत सरकारसँग जवाफ माग्ने भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा सरकारको जवाफ माग्ने भएको हो ।
क्वीन्टलका क्वीन्टल सुन भित्रिनुमा कर्मचारीको मात्र संलग्नता छैन । मन्त्री पनि जिम्मेवार हुन्छन् । आज सरकारको धारणा माग्छौँ, एमाले प्रमुख सचेतक पदम गिरीले भने ।
एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्न लागेको हो भन्ने प्रश्नमा प्रमुख सचेतक गिरीले भने, राजीनामा मागेका छैनौँ । सरकार कसरी प्रस्तुत हुन्छ, त्यसपछि थप रणनीति तय गर्छौं । सदन सुरु भएलगत्तै एमालेले उठेर विरोध गर्ने तयारी गरेको बुझिएको छ ।