
अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानविन गर्न राज्यले सम्पूर्ण हिसावले सहयोग गर्ने बताउनुभएको छ ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केहि कर्मचारीलाई निलम्वन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताएका छन् । । उनले सुन प्रकरणमा मेशिन वा मानविय कमजोरी हो भन्ने छानविन समितिले पत्ता लगाउने दावी गरे ।
मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए । उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकुल परिवर्तन गर्दै जानुपर्ने धारणा राखे । उनले बिमानस्थलमा रहेका राज्यका बिभिन्न निकायसंग छलफल गर्दै सुधारका बिषयमा पनि छलफल भएको बताए । राज्यका सवैको समन्वयकारी भूमिकाले नै बिमानस्थलमा हुने गैर कानूनी गतिविधिहरु कम भएर जाने उनले बताए ।
अर्थमन्त्री महतले बिमानस्थलको आगमन, प्रस्थान र भन्सार क्षेत्रको अवस्थाबारे निरिक्षण गरेका हुन् । सुन प्रकरणपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भन्सार क्षेत्रको निरिक्षण गरेका थिए । केही दिनअघि विमानस्थलको भन्सारबाट जाँचपास भएको बस्तुमा सुन भएको पाइएपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।