Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

सांसदले नै गोरु काट्न पाउनुपर्छ भने सांसदहरुबीच चर्काचर्की (भिडियो सहित )


गाई गोरु काट्न पाउनेगरी ऐन निर्माण गर्नुपर्ने माग संसदीय समितिमा नै उठेपछि सांसदहरुबीच चर्काचर्की भएको छ । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति र धर्ममा गोरुको मासु अनिवार्य भएको बताएपछि अन्य सांसदहरु प्रतिवादमा उत्रिएका हुन् । उनीहरुले सांसद जस्तो पदमा पुगेको व्यक्तिले धार्मिक सदभाव भडकाउँने गरी बोल्न नहुने भन्दै राईको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
मंगलबारको राज्यव्यवस्था समितिको बैठकमा माअ‍ोवादी सांसद राईले आफूहरुको संस्कृति जोगाउन गाई–गोरुको बध गर्न पाउनुपर्ने गरी ऐन निर्माण हुनुपर्ने माग गरेकी थिइन् । उनले संविधानमा धर्मनिरपेक्ष राज्य लेखिएकाले किराँत धर्मावलम्बीले आफ्नो संस्कृति मान्न पाउनुपर्ने बताइन् ।

गोरु बध गरेको विषयले धरानमा धार्मिक सदभाव बिथोलिने खतरा भएपनि विभिन्न धार्मिक गुरुहरुको आग्रह र स्थानीय प्रशासनको चनाखो सुरक्षा व्यवस्थापनका कारण उक्त खतरा टरेको थियो । सो खतरा टरिरहेका बेला सत्ताको नेतृत्व गरेको दलकै सांसदले फेरि सनातनी धर्माबलम्बीहरुको धर्म र आस्थामा ठेस पुग्नेगरी संसदीय समितिमा आवाज उठाएको भन्दै अहिले धेरैले चिन्ता व्यक्त गरिरहेका छन् ।

मंगलबार संसदको राज्य व्यवस्था समितिमा सांसद राईले भनेकी थिइन्, “मुन्धुममा हाम्रो गोरुलाई नचढाएर पितृ खुसी नै हुँदैन । त्यसमा पनि माले गोरु माले, बाछा पूजा ग¥यो भने हामी किरातीहरूको मुन्धुममा साँच्ची नै पितृहरू खुसी हुने हुन्छ, यी विषयमा हामीले छलफल गर्नुपर्छ । सदनमा संविधानमा बर्जित गरेको कुरा उठाउन किन दिइन्छ ? अहिले हामी गोरुको हड्डी राखेर उधौली र उभौली पूजा गर्छौं । त्यो स्वतन्त्र हुन्छ कि हुँदैन ?”

उनले धर्मनिरपेक्ष राज्य भनेपछि सबै धर्मको समान अधिकार हुनुपर्नेमा जोड दिइन् । साथै उनले धरानमा आफूहरूलाई खेद्न खोजिएको भन्दै आपत्तिसमेत जनाइन् । उनले गोरु बध गर्ने कानुन निर्माण गर्नुपर्ने माग गरिन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा आक्रोशित शैलीमा उनले भनिन् “धर्मनिरपेक्षता भनेको के हो ? यो ऐन बनाउने ठाउँ र सुशासन बनाउने समिति बनाउने समिति भएकाले यो बारेमा विचार बहस हुनुपर्छ, धरानमा अहिले सद्भाव भड्किएको छ । राई लिम्बू मुर्दावाद भनेर हरेक ठाउँमा भाषण गरेर हिँडेको छ, नारा लगाइन्छ । अब हामी त्यहाँका राई लिम्बुहरू भाग्नुपर्ने हो ? यही हो, संविधानमा लेखको कुरा ? पूजा गर्नेले पूजा गर्न पाउनुपर्छ र काटेर पूजा गरेर हाम्रो पितृलाई पूजा गर्न पाउनुपर्छ । यो ऐन यहाँबाट बनाउनुपर्छ भन्ने माग यहाँ राख्न चाहन्छु ।”

माओवादी केन्द्रकी सांसद राईले यस्तो माग गरेपछि सांसदहरू सरिता प्रसाईं र अम्बिका बस्नेतले राईको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका थिए । उनीहरूले सांसदजस्तो महत्वपूर्ण पदमा पुगेकाहरूले साम्प्रदायिक द्वन्द्व बढाउने काम गर्न नहुने बताए । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद रहेकी प्रसाईंले धर्मको राजनीति गर्दा छिमेकी देशको हालत हेर्न अनुरोध गरिन् । उनले सबै धर्मलाई समान अधिकार भएको भन्दै धैर्य र संयमता अपनाएर अभिव्यक्ति दिन आग्रह गरिन् । सांसद प्रसाईले भनिन् “बीपीले त्यो बैलै धार्मिक र जातीय आन्दोलन नहोस् भनेर सरकारनै समावेशी बनाउनुपर्छ भन्नुभएको थियो । जातीय र धार्मिक कुरा गर्नु राम्रो होइन । संयम भएर जानुपर्छ । हामीले मणिपुरमा हेरेकै छौँ नि, सबैले धर्म मान्न पाइन्छ । तर, उत्तेजित अभिव्यक्ति दिने सबैले आफ्नो ठाउँमा नबसे मुलुक कता जान्छ ? हामी सांसदले यो ख्याल नगरेर हुन्छ । सबैले यो विषयमा सोच्नुपर्छ ।” यस्तै, सांसद अम्बिका बस्नेतले पनि मिलेर बसेको समाज भाँडिन नहुने उल्लेख गरिन् । उनले भनिन्, “संविधान बनाउँदा धर्मनिरपेक्ष लेख्यौँ । हिजोदेखि मिलेर बसेको छौँ । सौहार्द कायम राख्नुपर्छ । आज मात्र धर्म चेन्ज गरेर वातावरण सिर्जना गरेको होइन । विज्ञापन गर्ने वातावरण कसरी आयो ?,”

 


प्रतिक्रिया दिनुहोस !
विचार