Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

पूर्वमन्त्रीलाई खुकुरी हान्ने राजावादी नै हुन् त ?


पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिले आफूलाई राजावादी बताउँने गरेको भएपनि उनी खाँटी राजावादी नभएको बुझिएको छ । यद्यपि उनले भने आफूलाई राजावादी नै भएको दाबी गरेका छन् । रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोलेर बाहिरिने क्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई नुवाकोटको विदुर नगरपालिकाका श्याम बहादुर सापकोटाले आक्रमण गरेका थिए । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सबै नेताहरुको भाषण ध्यानपूवर्क सुनेर बसेका सापकोटाले कार्यक्रम सकिए लगत्तै कांग्रेस सह महामन्त्री महेन्द्र यादवलाई पछ्याउँदै गएका थिए ।

यादव गाडी चढ्नै लाग्दा सापकोटाले खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ । प्रत्यक्षदर्शीहरुका अनुसार सापकोटाले झोलाबाट खुकुरी निकालेका थिए । माइतिघर र रिपोर्टस् क्लबमा हुने प्रायः कार्यक्रम नछुटाउने गरेका सापकोटा यसअघिका कार्यक्रमहरुमा कहिले आफूलाई अभियन्ता बताउँथे भने कहिले पत्रकारका रुपमा समेत कार्यक्रमहरुका सहभागी हुने गर्दथे । उनलाई विभिन्न कार्यक्रमहरुमा दखिरेहकाहरुले भने अनुसार उनी प्रायः कार्यक्रमहरुमा कुनै न कुनै रुपमा आफूलाई अरुले नोटिस गरुन् भन्ने अभिप्रायले अण्टसन्ट भएपनि प्रश्न गर्ने गर्दथे । त्यसो त केही समयअघि उनीसँग माइतिघरको एक कार्यक्रममा राजावादीहरुकै लफडा भएको थियो । माइतिघरमा आयोजित राजसंस्था पक्षधरहरुको एक कार्यक्रममा उनले राजसंस्थाकै विरोधमा बोल्न थालेपछि राजावादीहरु र उनीबीच हात हालाहालको स्थिती सिर्जना भएको थियो ।

राजसंस्थाको पक्षमा अभियान चलाउँदै आएका अभियन्ताहरुका अनुसार केही समय पहिले देखि नै उनी आक्रामक रुपमा जथाभावी बोल्दै आएका थिए । विभिन्न कार्यक्रमहरुमा गएर चर्को स्वरले बोल्ने गरेका उनी नेताहरुलाई मौका पाएँ भने सिध्याउँछु भन्ने गर्दथे । उनीसँग अलि पहिले संगत भएका एक अभियन्ताले भने अनुसार गोली पाएँ भने मैले जानेको छ भन्थे । मानसिक समस्यामा परेको झैं व्यवहार बेला बखत देखाउँने गरेका उनी बुधबारको रिपोर्टस क्ल्बको कार्यक्रममा भने अघिल्लो लहरमा चुपचाप बसेर नेताहरुको भाषण सुनिरहेका थिए । कालो भादगाउँले टोपी, टिसर्ट र छडके ब्याग भिरेर रिपोर्टस क्लबको कार्यक्रममा पूरै कार्यक्रम अवधिभर बसेका उनी कार्यक्रम सकिएपछि महेन्द्र यादवलाई पछ्याउँदै बाहिर निस्किएका थिए ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गरेपछि उनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाएका थिए । प्रहरीको नियन्त्रणमा ररिहरहेका बेला उनले चर्को स्वरमा राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा नारा लगाउँदै एमसीसी पक्षधरलाई आफूले सिध्याउन चाहेको बताएका थिए । एमसीसी पक्षधरलाई आफूले छिनाल्न चाहेको अभिव्यक्ति दिँदै आक्रामक शैलीमा प्रस्तुत भएका उनलाई नियन्त्रणमा राखिरहन पनि प्रहरीलाई हम्मे परेको थियो । पछि प्रहरीको भ्यानमा राखेर उनलाई हिरासत लगिएको थियो । रिपोर्टस क्लबले बुधबारको कार्यक्रम नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचार लगायतका विषयमा केन्द्रीत रहेर साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब १७ मिनेट सम्बोधन गरेका यादव राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा यादवमाथि आक्रमण भएको थियो । अहिले यादवको ट्रमा सेन्टरमा उपचार भइरहको छ भने यादवलाई आक्रमण गर्ने सापकोटा प्रहरी हिरासतमा छन् । सापकोटालाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउँने प्रहरीको तयारी छ ।

यता राजसंस्था पक्षधरहरुले पनि आक्रमणकारी सापकोटालाई कारबाही गर्नुपर्ने आवाज उठाएका छन् भने सत्तारुढ दल नेपाली कांग्रेस लगायतका दलहरुले विज्ञप्ती नै निकालेर कडा शब्दमा घटनाको भत्र्सना गरेका छन् । दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै कांग्रेस निकटका भातृ संगठनले राजधानीमा विरोध प्रदर्शन नै गरेका छन् ।

घाइते सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु ट्रमा सेन्टर पुगेका छन् । अन्य दलका नेताहरुले पनि घाइते यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार