बुधबार रिपोर्टस क्लबको कार्यक्रममा बोलेर बाहिरिँदै गर्दा आफूलाई राजावादी हुँ भन्ने श्यामबहादुर सापकोटाले कांग्रेस सह महामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेको विषय संसदमा जोडतोडका साथ उठेको छ ।
बिहिबारको संसद बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एकसाथ उक्त घटनाको विरोध गरे । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले श्याम बहादुर सापकोटाको हातमा खुकुरी देखिएतापनि खुकुरी श्यामबहादुरकै हातमा हो कि उनीसम्म कसैले पु¥यायो भन्ने विषय प्रधान रहेको बताए । खुकुरी कोही कसैले श्यामबहादुरको हातमा दिएको त होइन भन्दै उनले यतिबेला तेर्सिएका यी प्रश्नको जवाफ गृहमन्त्रीले दिनुपर्ने बताए । उनले भने, ‘खुकुरीको को लक्ष्य महेन्द्र यादव मात्रै हो कि लक्ष्य त्यो भन्दा अगाडि छ ? यो प्रहार यहिँनेर रोकिन्छ कि अगाडि बढ्छ ? उनले खुकुरी प्रहार गरेर कांग्रेस नमर्ने बताए । लोकतन्त्रको पक्षमा अविचलित ढंगले पर्वत झैं उभिएको पार्टी भएको बताउँदै खुकुरी हानेर कांग्रेस सकाउँछु भन्नु र टाउकाले हिर्काएर पर्वत खसाउँछु भन्ने एकै रहेको बताए । उनले विभिन्न बहानामा व्यवस्थामाथि आक्रमण भइरहेको बताउँदै कृतिम भाष्यहरू निर्माण गरेर व्यवस्थालाई कमजोर पार्न उठेका खुकुरी राम्ररी चिन्नुपर्ने बताए । अहिले कृतिम भाष्य निर्माण गरेर गणतन्त्रलाई कमजोर देखाउँन खोजिएको भन्दै गणतन्त्र पक्षधरहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संसारको इतिहासमा पहाडसँग जुध्नेहरूको टाउको फुटेको छ । तर पहाड फुटेको इतिहास छैन । खुकुरी प्रहार गर्दैमा कांग्रेस एमाले माओवादी लगायतका संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलहरु पुराना हुन्, खराब छन्, तिनीहरूले यो मुलुकलाई निकास दिन सक्दैन भन्ने कृतिम भाष्य तयार गरेर लोकतन्त्र समाप्त पार्ने कसैको चाहना छ भने त्यो दिवास्वप्न हुनेछ,’
यसैबीच नेपाली कांग्रेसका अर्का सांसद तथा संसदको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कांग्रेसका सहमहामन्त्रीमाथि खुकुरी प्रहार गर्नेलाई कडा भन्दा कडा कारबाही नगरिए कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् । ‘खुकुरीको को लक्ष्य महेन्द्र यादव मात्रै हो कि लक्ष्य त्यो भन्दा अगाडि छ ? यो प्रहार यहीनेर रोकिन्छ कि अगाडि बढ्छ?,’ यी सबै विषयमा सरकारले जवाफ दिन सरकारसँग उनले माग गरे।