सामाजिक सञ्जालमार्फत जिम्मेवार निकायलाई प्रश्न गर्दै सामाजिक अभियन्ताको पहिचान बनाएर धरान उपमहानगरपालिकाको मेयर बनेका हर्क साम्पाङले आफूमाथि प्रश्न गरेकै कारण एक युवालाई प्रहरी थुनामा पु¥याएका छन् । पछिल्ला दिनमा आफ्नो आलोचना गर्नेहरुमाथि कठोर रुपमा प्रस्तुत हुँदै आएका मेयर साम्पाङले आफूलाई प्रश्न गर्ने धरानका एक युवालाई प्रहरी थुनामा पु¥याएका हुन् ।
धरान १५ का अशोक लिम्बु हर्क साम्पाङलाई प्रश्न गरेकै कारण शुक्रबार अपरान्हदेखि प्रहरी हिरासतमा छन् । शुक्रबार धरान उपमहानगरपालिकाको वडा नं १५ मा लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालनका लागि पुगेका मेयर साम्पाङलाई अशोक लिम्बुले प्रश्न गरेका थिए । धरानमा डेंगीले मान्छे बिरामी भएको तर, हर्क साम्पाङ चाहिँ लार्बाको फोटो खिच्दै हिँडेको भन्दै उनले सोधेका थिए, हर्क दाई, तपाईँ फोटो खिच्दै हिँड्नुहुन्छ यहाँ मान्छेहरुको चाहिँ बिजोग भइसक्यो के हो यस्तो ? मेयर हर्क साम्पाङले बोल्दै गर्दा उनलाई दाई भनेर सम्बोधन गर्दै प्रश्न गरेका युवालाई मेयर साम्पाङले प्रतिप्रश्न गर्दै भने, भाई तिमी यहाँ विरोध गर्न आएको ? मेयर साम्पाङको यो प्रतिप्रश्नपछि अशोक लिम्बुले साम्पाङलाई भने, दाई हामीले प्रश्न पनि गर्न नपाउँनु ? लिम्बुले यसो भनेपछि साम्पाङले नगर प्रहरीलाई निर्देशन दिँदै भने, यसलाई पक्राउ गर्नु । त्यसपछि नगर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालयमा पु¥याएका थिए । प्रहरी स्रोतका अनुसार यो समाचार तयार पार्दाका बखत सम्म ती युवा प्रहरी थुनामै छन् ।
इलाका प्रहरी कार्यालयका एक अधिकारीले दिएको जानकारी अनुसार ती युवालाई मौखिक उजुरीका आधारमा त्यहाँ राखिएको छ । मेयरले पनि शुक्रबार साँझ नै फेसबुकमा एक स्टाटस लेख्दै बदमासलाई प्रहरी जिम्मा लगाएको बताएका छन् । तर, ती युवाको बदमासी के हो भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् । स्वतन्त्रन्त्रताको नाममा अराजकता फैलाउँने कसैलाई छाडिदैन भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , बदमासलाई प्रहरीको जिम्मा लगाइयो स्वतन्त्रताका नाममा अराजकता फैलाउँने कसैलाई छाडिदैन । जय देश ।
सार्वजनिक कार्यक्रममा मेयरको अपमान गर्नेगरी प्रस्तुत भएपछि प्रहरीको जिम्मा लगाइएको मेयर निकटका एक व्यक्तिले बताए । उनलाई गाली बेइज्जतीको कसुरमा मुद्दा चलाउँन मेयरले प्रहरीलाई निर्देशन दिएको उनको भनाई छ । यद्यपि यसबारे इलाका प्रहरी कार्यालयले विस्तृतमा केही बोलेको छैन ।
अघिपछि सानातिना विषयमा पनि भिडियो बनाएर पोष्ट गर्दै आएका मेयर साम्पाङले यो विषयमा त्यसपछि अरु थप स्टाटस र भिडियो पोष्ट गरेका छैनन् । उनले भनेका ती युवा प्रहरीकोमा रहेको या नरहेको भन्नेबारे उनको फेसबुकमा केही कुरा उल्लेख छैन ।
यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने धरानका मेयर हर्क साम्पाङ आफूलाई प्रश्न गर्नेहरुमाथि रुष्ट बन्नु उनकै अराजकताको चरम नमुना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले मेयर साम्पाङलाई सम्बोधन गर्दै भनेका छन्, मेयर हर्क साम्पाङजी तपाई अरुलाई प्रश्न गरेरै राजनीतिमा उदाउनुभएको मान्छे । तर, अहिले आफूलाई प्रश्न गर्ने मान्छेमाथि तपाईँ असहिष्णु बन्नुभएको छ । यो तपाईँको अराजकता हो । अशोक लिम्बुले प्रश्नै गर्न नपाउँने धरानमा तपाइँको कस्तो लोकतन्त्र हो ? मान्छे बिरामी छन् तपाईँ लार्भाको फोटो खिच्दै हिँड्नुहुन्छ भन्दा तपाईँ रिसाउन पाउनुहुन्थ्यो । तर, उनले प्रश्न गरेकै कारण नगर प्रहरीलाई समात्न लगाएर इलाका प्रहरी कार्यालयको जिम्मा लगाउँने तपाईँको यो के पारा हो ?
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने धरानका मेयर हर्क साम्पाङको समर्थन गरेका छन् । खुरुखुरु काम गर्दै हिँडेका साम्पाङको के खान ती युवाले बिरोध गरेको भन्दै उनीहरुले भनेका छन्, विरोधका लागि बिरोध गर्नेहरुलाई यस्तै गर्नुपर्छ , ठिक गर्नुभयो हर्क दाई ।
युवा पक्राउको विषयलाई लिएर हर्क साम्पाङको पक्ष र विपक्षमा विभाजित भएका समाजिक सञ्जाल प्रयोगकर्ताहरुको दोहोरीले यतिबेला सामाजिक सञ्जाल भने भरिएको छ । तर, जे होस् स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर निर्वाचित भएका साम्पाङले सुरुवाती दिनमा जसरी धेरैको वाहवाही कमाएका थिए पछिल्ला दिनमा भने सामाजिक सञ्जालमा उनले ह्वारह्वारती लेख्ने स्टाटस र विवादास्पद काम र व्यवहारका कारण उनी धेरैको आलोचनाको पात्र समेत बनेका छन् ।