Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

सुवास नेम्वाङका दुईटै छोरा विदेशमा, भोलिसम्म आइपुग्ने


नेकपा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका दुईवटै छोरा विदेशमा छन् । सोमबार राती हृदयघातका कारण निधन भएका एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको पार्थीव शरीरमा देशका उच्चपदस्थदेखि सर्वसाधारण सम्मले श्रद्धाञ्जली दिइरहँदा उनका छोराहरु भने प्रारम्भिक श्रद्धाञ्जलीमा छुटेका छन् । आफ्ना पिताको निधन भएको खबर पाए लगत्तै नेपाल फर्कने तयारी गरेपनि नेम्वाङका छोरा मध्ये एक छोरा मंगलबार रातीसम्म र अर्का छोरा बुधबार दिउँसोसम्म मात्रै नेपाल आइपुग्ने बुझिएको छ । छोराहरु विदेशमा रहेका कारण नेम्वाङको अन्त्येष्टी बुधबार मात्रै गरिने भएको हो । नेम्वाङको शबलाई बुधबार दिउँसो सम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिनेछ । सपरिवार बेलायतमा बस्दै आएका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन् । नेम्वाङको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनै जेठा छोरालाई पर्खनका लागि सुवास नेम्वाङको अन्त्येष्टी बुधबार गर्ने तयारी गरिएको हो ।

उता अष्टे«लियामा रहेका कान्छा छोरा सुहाङ नेम्वाङ पनि आज राती ११ बजे मात्र नेपाल आइपुग्दै छन् । उनी १५ दिनअघि अष्ट्रेलिया गएका थिए । दिवंगत नेता सुवास चन्द्र नेम्वाङका ४ सन्तान मध्ये दुई छोरा विदेशमा र दुई छोरी भने काठमाडौंमै छन् । छोरीहरु आफ्ना पिताको श्रद्धाञ्जली समारोहमा सरिक भएका छन् भने उनीहरुसँगै एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि हजारौंको उपस्थित रहेको छ ।
सोमबार राती हृदयघातका कारण निधन भएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव मंगलबार बिहान करिब १० बजेबाट एमाले पार्टी कार्यालय च्यासलमा राखिएको हो । उक्त शबलाई बुधबार पनि अपरान्ह सम्म पार्टी कार्यालय च्यासलमै राखिने एमालेले जनाएको छ । नेम्वाङका दुईवटै छोरा विदेशमा भएपछि यता सामाजिक सञ्जालमा भने शवले विदेशमा रहेका छोराहरु कुर्नुपर्ने दिन आएको भन्दै धेरैले दुःख व्यक्त गरेका छन् । जनतादेखि नेतासम्मका छोरा विदेशमा रहने अवस्था आएको र शवहरुले विदेशका छोराहरुलाई कुर्नुपर्ने अवस्था आएको भन्दै देश कस्तो बनाइएछ भनेर जिवित नेताहरुले घोत्लिनुपर्ने केहीको भनाई छ । उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ः अब जिवित नेताहरुले सोच्नैपर्छ ।

यसैबीच दिवंगत नेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टीका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले संविधानसभाको अध्यक्षको समेत कुशल भूमिका निर्वाह गरेका पूर्व सभामुख सुवास चन्द्र नेम्वाङको अन्त्येष्टीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टी हुँदैछ ।

यता नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएको बताए । पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको उनले जानकारी दिए । उनले पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको पनि बताए । त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए । पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले बताए । उनका अनुसार बैठक नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार