नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोमबार ज्वरो आएको थियो । उनको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनी दिनभर आफ्नो नीजि निवास बालुवाटारमै आराम गरेर बसेका थिए ।
अपरान्ह पाँच बजेतिर उनको निवासमै स्वास्थ्य परीक्षणका लागि चिकित्सक बोलाइएको थियो । संसद सचिवालयमा कार्यरत एकजना डाक्टर नेम्वाङ निवास बालुवाटारमा पाँच बजे पुगेका थिए । प्राप्त जानकारी अनुसार सामान्य स्वास्थ्य परीक्षणका क्रममा त्यतिबेला नेम्वाङलाई १०० डिग्री फेरेनहाइट ज्वरो देखिएको थियो । त्यसअघि भने उनलाई १०२ डिग्री सम्म ज्वरो आएको थियो । उनको प्रेसर १३०÷८० र अक्सिजनको लेभल ९५ देखिएको थियो । स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य नै देखिएपछि नेम्वाङ निवासमा गएका डाक्टर फर्किएका थिए ।
संसद सचिवालयमा कार्यरत ती डाक्टरले सभामुख सहित सांसदहरुको स्वास्थ्य परीक्षण गर्ने गर्दछन् । नेम्वाङ दिनभर घरमै सुतेर बसेको र संसद सचिवालयमा कार्यरत डाक्टरले स्वास्थ्य जाँच गरेर फर्किएको खबर पाएपछि उनका नीजि चिकित्सकले नेम्वाङलाई साँझ ६ बजेतिर सम्पर्क गरेका थिए । विगत पाँच वर्षयता नेम्वाङको निजी चिकित्सकका रुपमा रहेका ती अर्का डाक्टरले नेम्वाङलाई फोन गरेर हजुरको स्वास्थ्य अवस्था कस्तो छ भनेर सोधेको बुझिएको छ । नेम्वाङलाई बुबा भनेर सम्बोधन गर्दै ती डाक्टरले सोधेका थिए, कस्तो छ बुबा हजुरलाई म आउनुपर्छ कि ? जवाफमा नेम्वाङले सबै इण्डिकेटर नर्मल छ, म ठिक छु तिमी आउनु पर्दैन भनेका थिए । नेम्वाङको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार नेम्वाङ स्वयंले डाक्टरलाई तिमी आउनुपर्दैन भनेपछि एक कचौरा सुप पिएर सुतेका थिए । अघिपछि पनि साधारण खानपान गर्ने गरेका नेम्वाङमा यसअघि मुटु सम्बन्धि समस्या देखिएको थिएन । तर, सुगर र प्रेसर भने नेम्वाङमा देखिएको थियो । नेम्वाङले सुगर र प्रेसरको औषधी भने केही वर्षयता सेवन गर्ने गरेका थिए ।
राती उनी आफैं शौचालय गएका थिए । तर, शौचालय गएको केहीबेरमा नै उनी शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनलाई तत्कालै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर, त्रिवी शिक्षण अस्पतालमा पु¥याइएको केहीबेरमा नै चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए । अहिले उनको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ भने उनलाई श्रद्धाञ्जली व्यक्त गर्न गएका विभिन्न पार्टीका नेता तथा उच्च पदस्थ नेताहरुले शालिन, भद्र र बौद्धिक नेताका रुपमा स्मरण गरिरहेका छन् ।