नेपाली कांग्रेसले दश हजार बढीलाई निम्ता दिई शनिबार कोजाग्रत पूर्णिमाका अवसरमा गरेको चियापान समारोहमा सर्वसाधारण र भिआइपीका लागि अलग अलग खान्कीको व्यवस्था गरिएको थियो । सर्वसाधारणका लागि एक पिस समोसा, एक पिस केरा, निम्की, एक पिस बर्फी र चियाको व्यवस्था गरिएको थियो भने भिआइपीका लागि बारा, स्विटकर्न, चिकेन, चिज स्याण्डविच, अचार , चिया र कफीको व्यवस्था गरिएको थियो ।
कांग्रेसले चियापान व्यवस्थापनको जिम्मा बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डलाई दिएको थियो । १० हजार बढीलाई निम्ता गरिएको भनिएपनि अनुपम फुडल्याण्डले सर्वसाधारणका लागि ५ हजार मेन्यु प्याकेट र भिआइपी अतिथिीका लागि ४०० प्याकेट सानेपामा पु¥याएको बुझिएको छ । चियापान स्थलमा सर्वसाधारण र भिआइपी प्रवेश गर्ने अलग अलग बाटोको व्यवस्था गरिएको थियो । चियापानमा सरिक हुन पुगेका भिआइपीका लागि मिडियासँग कुराकानी गर्ने छुट्टै स्थलको व्यवस्था गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले मिडियासँग सोही स्थलमा बसेर कुरकानी गरेका थिए ।
सर्वसाधारणलाई चियापानका लागि पार्टी कार्यालयको प्रांगणमा व्यवस्था गरिएको थियो भने भिआइपीका लागि पार्टी कार्यालयको माथिल्लो तलामा व्यवस्था गरिएको थियो । भेन्यु र मेन्यु व्यवस्थापनका लागि अनुपम फुडल्याण्डले हिजैदेखि सानेपामा कर्मचारी खटाएको थियो । प्राप्त जानकारी अनुसार अनुपम फुडल्याण्डका ६० जना भन्दा बढी कर्मचारी व्यवस्थापनमा खटिएका थिए ।
ठूलो संख्यामा सर्वसाधारण र अतिथि आउने भएपछि कांग्रेसले पार्टी कार्यालय बाहिरको सडकलाई पार्किङ स्थलका रुपमा प्रयोग गरेको थियो । सडक किनारामा सयौं सवारी साधन पार्किङ गरिएका थिए ।
चियापान समारोहमा सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा अोली लगायतका नेताहरु पुगेपनि उनीहरु भने मिडियासँग नबोली बाहिरिएका थिए । कांग्रेस महामन्त्री गगन थापा चियापान अवधिभर अतिथि र सर्वसाधारणको स्वागतमा उभिएरै खटिइरहे । मञ्चमा सभापति शेरबहादुर देउवा, उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङ , नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, आरजु राणा देउवा लगायतका रहेका थिए ।