Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविलाई देउवाको सम्मान


शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जब नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा पुगे, तब त्यहाँको माहोल नै बेग्लै भयो । कोजाग्रत पुर्णिमाका अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा लामिछाने पुग्दा सबैको नजर उनैतिर केन्द्रित भयो । कांग्रेस महामन्त्री गगन थापाले रवि लामिछानेसँग हात मिलाउँदै अंकमाल गरे भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि लामिछानेलाई उभिएरै स्वागत गरे । शनिबारको चियापान समारोहमा देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, सभामुख देवराज घिमिरे, रास्वपा सभापति रवि लामिछाने, पूर्व सभामुख अग्नी सापकोटा लगायतलाई मात्रै उभिएर स्वागत गरेका थिए । नत्र मञ्चमा जो आउँथे उनीहरुलाई सभापति देउवा बसेरै नमस्कार गरिरहेका देखिन्थे । नमस्कार गर्दा गर्दा थकित भएर पनि होला बेला बेलामा देउवा मन्द गतिमा ताली बजाएर बसेका देखिन्थे । उनी पछाडी बसेकी देउवा श्रीमति एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा भने कहिले नमस्कार गरिरहेकी हुन्थिन् त कहिले मोबाइल चलाएर बसिरहेकी ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मञ्चमा गएको केहीबेरपछि रास्वपा सभापति रवि लामिछाने उही जोशीलो शैलीमा मञ्चमा उक्लिए । उपसभापति सहित रास्वपाका केही नेतालाई लिएर कांग्रेसको चियापानमा पुगेका लामिछाने कांग्रेस महामन्त्री गगन थापासँगको अंकमालपछि सिधै कांग्रेस सभापति शेरबहादुर देउवा भएतिर मुस्कान सहितको नमस्कारका साथ लम्किए । लामिछानेलाईं देख्नासाथ बसिरहेका कांग्रेस उपसभापति धनराज गुरुङ उभिएर स्वागत गर्नतिर लागे भने बसेरै नमस्कार गरिरहेका सभापति देउवा पनि रवि लामिछानेको स्वागतका लागि सकी नसकी उभिए । उभिएर लामिछानेलाई नमस्कार फर्काउदै आफूसँगैको सोफामा बस्नका लागि देउवाले इशारा गरे । त्यसक्रममा देउवा र लामिछानेबीच छोटो औपचारिक गफ चल्यो । केहीबेर देउवासँगै बसेका लामिछाने त्यसपछि मिडियासँगको कुराकानीका लागि मञ्च तल ओर्लिए । लामिछानेलाई चियापानका लागि भिआइपी कक्षमा कांग्रेसका कार्यकर्ताहरुले पु¥याए । जहाँ भिआइपीका लागि विशेष प्रकारको चियापानको व्यवस्था थियो । कांग्रेस केन्द्रीय कार्यालयको प्रांगणमा सर्वसाधारणका लागि एक पिस समोसा, निम्की, एक पिस केरा र एक पिस बर्फीको व्यवस्था भइरहँदा लामिछाने सहितका भिआइपीका लागि बारा, स्विटकर्न, चिकेन, चिज स्याण्डविच, अचार , चिया र कफीको व्यवस्था गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयमा भएको चियापानमा सहभागी भएका लामिछानेले चियापान समारोहको प्रशंसा गर्दै त्यसलाई उच्च राजनीतिक संस्कारका रुपमा अथ्र्याए । राजनीतिक दलका रुपमा आफूहरु प्रतिष्पर्धी भएपनि कांग्रेसले देखाएको संस्कार महत्वपूर्ण रहेको उनको भनाई थियो । रवि लामिछाने लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले लामिछानेको नाम त लिएनन् तर, लामिछानेहरुले अन्य मञ्चबाट आफूहरुमाथि गर्ने गरेको आलोचनाको स्वागत नै गरे । उनले भने, लोकतान्त्रिक पार्टीले आलोचना सहन्छ र स्वीकार्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार