Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

भुस्याहा कुकुरहरुले मेरो बदनाम गर्न खोज्दैछन् : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड रुपैंयाँ आफूले लगानी गरेको आरोप लगाउँनेहरुलाई भुस्याहा कुकुरको संज्ञा दिएका छन । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले कम्बोडियामा आफ्नो लगानी रहेको भन्नेहरु भुस्याहा कुकुर भएको बताएका हुन् । ओलीले आफूलाई आरोप लगाउँनेहरुलाई ३ हजार करोड लगानी रहेको कुरा पत्ता लगाउँन चुनौती समेत दिएका छन् । त्यसरी पत्ता लगाए त्यसमा आफूले थप एक हजार रुपैंयाँ थपेर दिने उनले बताए ।

ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’ आफू र एमालेलाई बदनाम गराउँनका लागि केही भुस्याहा कुकुरहरु लागिपरेको उनको भनाई थियो । पहिले आफ्नो पैसा स्वीस बैंकमा रहेको भनेर आरोप लगाइएको भन्दै ओलीले अहिले कम्बोडियामा लगानी रहेको भनेर बेतुकको हल्ला चलाइएको जिकिर गरे ।
यसअघि नेकपा एमालेको केन्द्रीय सदस्य रहेर हाल राजसंस्था फर्काउ अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईले केहीदिनअघि कम्बोडियाको टेलिकममा ओलीको ३ हजार करोड लगानी रहेको बताएका थिए । दुर्गा प्रसाईँको नाम नलिई ओलीले आफ्ना विरुद्ध अनर्गल प्रचार गर्नेहरुले प्रमाणित गर्नुपर्ने बताए ।

आफू र आफ्नी श्रीमतिको नाममा रहेको सबै सम्पति देशका नाममा दान गरिसकेको बताउँदै ओलीले आफ्नो राष्ट्रवादी छबीमा हिलो छ्याप्न खोज्नेहरुलाई सरकारले कारबाही गर्नुपर्ने माग गरे । ओलीले भने, ‘मैले र श्रीमतीले सबै सम्पत्ति दान गरिसकेका छौं, कसका लागि सम्पत्ति राख्ने मैले भ्रष्टाचार गर्ने ? अरुलाई दिने मुर्खता केपी ओलीले गर्दैन ।’

आफूले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा नहालेको भन्दै उनले त्यस्तो अपराध आफूूले गर्नुपर्ने कुनै आवश्यकता र बाध्यता आफूलाई नभएको बताए । ओलीले भने, ‘राज्यको ढुकुटीबाट १ पैसा पनि आफ्नो खल्तीमा हाल्छ भने त्यो अपराध हो, एमाले यसको विरोधमा छ, कुनै कम्प्रमाइज गर्दैन ।

यता दुर्गा प्रसाईले भने आफूले त्यत्तिकै आरोप नलगाएको बताएका छन् । सार्वजनिक सञ्चार माध्यमहरुलाई दिएको प्रतिकृयामा प्रसाईले आफूले विभिन्न प्रमाणका आधारमा बोलेको दाबी गरेका छन् । उनले भनेका छन्, ओली हजुरबा जस्तो म जे मन लाग्छ त्यही उखान तुक्काका भरमा बोल्ने मान्छे होइन, प्रमाणका आधारमा मात्रै बोल्छु । कम्बोडियामा ओलीको लगानी रहेको भन्ने कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा समेत आइसकेको उनको भनाई छ । आफूले यी र यस्तै प्रमाणहरु सार्वजनिक गर्न थालेपछि ओली र एमाले अत्तालिएको उनको भनाई छ । आफूलाई केहीदिनअघि एमालेको युवा संघले छ्यापेको कालोपोतो एमालेको डरपोक भएको प्रसाईंको भनाई छ ।

एमालेसँग तर्क, विचार र प्रमाणका आधारमा भिँड्न दुर्गा प्रसाई एक्लै काफी भएको उनको दाबी छ । यतिबेला एमाले एकातिर र दुर्गा प्रसाईँ अर्कातिर भएको बताउँदै उनले दुर्गा प्रसाईँले अहिले भनिरहेका कुरा आरोप नभएर वास्तविकता भएको बताए । प्रसाईले भने, हेर्दै जानुस् अझै यस्ता म धेरै प्रमाणहरु सार्वजनिक गर्दै जानेछु । ती सबै प्रमाणहरु सार्वजनिक हुँदै जाँदा एमालेका धेरै मान्छेहरु बहुलाउनेछन् ।

दुर्गा प्रसाईले एमालेका अध्यक्षमाथि नै कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाईरहँदा यता सामाजिक सञ्जालमा भने यो विषय भाइरल बनेको छ । दुर्गा प्रसाइँका पक्ष र विपक्षमा सामाजिक सञ्जाल विभाजित भएको छ भने नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले दुर्गा प्रसाईँलाई अफबाह फैलाएको आरोपमा पक्राउ गर्नुपर्ने माग गरेका छन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुर्गा प्रसाईँलाई पक्राउको माग गरेको खबर सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डसँग पछिल्लोपटक सिंहदरबारमा भएको भेटमा ओलीले प्रचण्डसँग प्रसाईँ पक्राउको माग गरेका हुन् । जवाफमा प्रचण्डले ओलीलाई उतिबेला माओवादी परित्याग गरेर प्रसाईँ एमालेमा जाँदा मख्ख पर्नुभएको थियो नि भनेको माओवादीका एक नेताले बताए । ती नेताका अनुसार प्रचण्डले ओलीलाई भने, ओलीजी , पहिले मेरा विरुद्धमा प्रसाईँले तथानाम गाली गर्दा र आरोप लगाउँदा तपाईँले खुबै मजा मानेर सुन्नुभयो अहिले तपाईका विरुद्धमा बोल्दा तपाईँलाई खुबै दुखेछ । जवाफमा ओलीले पहिलेका कुरा नगर्न प्रचण्डलाई सुझाएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार