Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

गद्दीहिन राजासँग डराएका प्रचण्डले नबुझेको कुरा


सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र गद्दीबाट बाहिरिएका राजा ज्ञानेन्द्र शाह र उनका गतिविधिबाट डराएको देखिएको छ । अहिलेका राजनीतिक उपलब्धि धरापमा पर्ने सम्भावना देखिएको आंकलन गर्दै माओवादी केन्द्रले त्यसका विरुद्धमा आगामी मंसिर २२ गते काठमाडौंमा शक्ति प्रदर्शन नै गर्ने तयारी गरेको खबर बाहिरिएपछि ऊ डराएको विश्लेषण गरिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं प्रधानमन्त्री रहेका बखत माओवादी केन्द्रले सडक प्रदर्शनको तयारी गरेपछि यतिबेला माओवादी केन्द्र र त्यो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यापक आलोचना भएको छ । । त्यसो त केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेका उपलब्धि जोगाउँन वर्षा सकिएपछि सडकमा लाखौं जनता उतार्ने घोषणा गरेका थिए । तर, वर्षा सकिए लगत्तै मान्छे उतार्न नसकेका प्रधानमन्त्री प्रचण्डले काठमाडौंमा मान्छे उतार्ने साइतका रुपमा मंसिर २२ गतेलाई रोजेका छन् । दशैं तिहार र छठ सकिएपछि काठमाडौंमा मान्छे उतार्न सहज हुन्छ र त्यसबाट व्यवस्था जोगाउँन सकिन्छ भन्ने माओवादीको बुझाई छ । तर, यो बुझाईलाई अपरिपक्व, उरुन्ठेउलो र हासोउठ्दो भएको बताउँछन् राजनीतिक विश्लेषक आनन्दराम पौडेल ।

सडकमा मान्छे उतारेर अहिलेको व्यवस्था जोगाउँन सकिन्छ भन्ने प्रचण्डको ठम्याई व्यवस्था भन्दा पनि सत्ता टिकाउँने र मान्छेको ध्यान अन्तै केन्द्रित गर्ने चालबाजी भएको अन्य कतिपय विश्लेषकको भनाई छ । तीन तीन पटक देशका प्रधानमन्त्री भएका प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न सकेको भए यो व्यवस्थामाथि कहिँ कतैबाट पनि चुनौती नै आउन नसक्ने उनीहरुको तर्क छ । कतिपय भन्छन्, यो व्यवस्थाका लागि पूर्वराजाले त सकेको सहयोग गरेका हुन् । उतिबेला आफैं सेनाको परमसेनाधिपति रहँदा समेत तत्कालिन राजा ज्ञानेन्द्र शाहले श्रीपेच सर्लक्कै फुकालेर नागार्जुनतिर हिँडेको र गणतन्त्रका लागि त्यो भन्दा ठूलो सहयोग केही नहुने उनीहरुको भनाई छ ।

ज्ञानेन्द्र शाहले चाहेको भए राजसंस्था जोगाउँन उतिबेला सेनाको प्रयोग वा अरु केही गर्न सक्ने भएपनि त्यसो नगरी दरबार छाड्नु गणतन्त्रप्रतिको सहयोग भएको विश्लेषकहरुको तर्क छ । राजसंस्था गएपछिका शुरुका दिनमा राजा र राजसंस्थाका विषयमा मान्छेहरु सकारात्मक थिएनन् । दरबार हत्याकाण्डको आलो घटनाका कारण होस् या राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि चालेका केही अप्रिय निर्णयहरु जसका कारण राजा र राजसंस्थाका बारेमा मान्छेहरु नकारात्मक थिए । तर, विस्तारै अवस्था यस्तो बन्दै गयो कि राजा र राजसंस्थाप्रति नकारात्मक भएका तीनै मान्छेहरु अहिलेका दल र नेताहरुप्रति नकारात्मक र राजसंस्थाप्रति सकारात्मक बन्न थाले । यसको कारण अरु केही नभएर गणतन्त्र स्थापनापछि सत्ताको हालीमुहाली गरेका नेताहरुको मनपरीतन्त्र हो । ती नेता जसले जनता सोचेनन्, जनता सम्झिएनन् मात्र सत्ता, सत्ता र सत्ता मात्र सम्झिरहे ।

नेताहरुले मति र विकासले गति लिन सकेको भए सम्भवतः जनताले यतिबेला राजा र राजसंस्था सम्झने थिएनन् । अहिलेको व्यवस्थामाथि चुनौती गद्दिहिन राजा र उनी पक्षधरबाट देखियो भन्दै सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले नै मंसिर २२ मा सडक आन्दोलन गर्ने तयारी गरेको छ । तर, माओवादी केन्द्र सहितका दलहरुले बुझ्नुपर्ने कुरा के हो भने व्यवस्थालाई चुनौती कहिँबाट आएको छ भने त्यो गद्दिहिन राजाबाट होइन अहिलेकै नेताहरुको सत्ता स्वार्थ र असक्षमताबाट आएको छ । नाच्न जाँन्दैन आँगन टेढो भन्ने नेपाली उखान झैं जनता जनता भन्दै जनताका पक्षमा काम गर्न नजान्नेहरुबाट चाहिँ व्यवस्थामाथि चुनौती थपिएको छ । त्यसैले माओवादी केन्द्र र त्यो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुझ्नुपर्छ : यो व्यवस्था जोगाउँने नै हो भने सडकमा मान्छे उतार्ने होइन, बरु भत्किएका तीनै सडकहरु बनाउँनुपर्छ । जनतालाई उतिबेला देखाएका सपनाहरु पूरा गर्नुपर्छ । अनि सत्ताको मोजमस्तीका लागि जे पनि गर्न तयार हुने गतिछाडापन त्याग्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार