Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

रवि र विप्लब मिल्दैछन् ? के हो विप्लबको कुरा ?


रास्वपा सभापति रवि लामिछाने र नेकपा महासचिव विप्लबबीच एमाले पार्टी कार्यालयमा बुधबार भएको भेट संयोगपूर्ण थियो । तर, भेट संयोगले भएको भएपनि त्यो भेटले एउटा कौतुहलता भने धेरैमा जगाइदिएको छ । एमालेले गरेको चियापान समारोहमा अरु निम्तालुहरु अर्कातिर चियाको चुस्की लगाइरहँदा रास्वपा सभापति रवि लामिछाने र नेकपा महासचिव विप्लब भने पार्टी कार्यालयको गार्डेनको एक छेउमा विशेष झैं लाग्नेगरी गफ गरिरहेका थिए । दुई नेता र उनीहरु निकटका अन्य नेता गफिएर बसेको ठाउँमा जब क्यामेराहरु पुगे त्यसपछि सबै नेता ज¥याकजुरुक उठे । दुई जनाका बीचमा के कुरा भयो भन्ने कुरा सञ्चारकर्मीहरुका लागि खुलदुलीको विषय थियो । क्यामेरा जुम गर्दै विप्लब र रविलाई क्यामेराको लेन्समा तान्दै गर्दा विप्लबले रविसँग हात मिलाउँदै भने : अब त सँगै भइन्छ नि । त्यतिबेला विप्लबको पछाडि क्यामेरका बुमहरु तेर्सिसकेका थिए । सायद विप्लबले बुम तेर्सिसकेको त्यतिबेला सम्म थाहा पाएका थिएनन् । त्यसपछि झसंग भएजसरी मिडियातिर फर्किर्द सोधे : कहाँबाट तपाईँ ?

अब त सँगै भइन्छ नि भन्ने विप्लबको भनाईसँगसँगै हात मिलाइरहेका रवि पनि त्यतिबेला अल्मलिए जस्तो देखिए । उनले विप्लबलाई सोधे : सँगै भइन्छ भनेको कस्तो ? तर, त्यसको खास जवाफ विप्लबले दिएनन् । तर, मिलेर देशको सेवा गर्ने हो भन्दै विप्लबले पत्रकारहरुलाई छोटो प्रतिकृया दिए ।

विप्लबपछि सञ्चारकर्मीहरुमाझ प्रस्तुत भएका रविलाई शुरुमै पत्रकारहरुले त्यही प्रश्न सोधे : अब सँगै हुने रे के हो कुरा ? तर, रविले विप्लबको कुरा आफूले पनि नबुझेको प्रतिकृया दिए ।
विप्लबसँग केही समय छुट्टै गफिँदा समेत रविले नबुझेका कुरा टाढाबाट दृश्य कैद गरिरहेका पत्रकारहरुले तत्कालै बुझ्न सकिने कुरा भएन । तर, अ नुमान के चाहिँ लगाउँन सकिन्छ भने, विप्लब रविहरुसँग नजिक हुन भने चाहिरहेका छन् । नत्र अब त सँगै भइन्छ नि भन्ने अभिव्यक्ति उनीबाट त्यतिकै आउँने थिएन । रवि र विप्लबहरु क्यामेरामा देखिनुअघि एमाले पार्टी कार्यालयको गार्डेनमा के के कुरा भयो त्यो उनीहरु नै जानून् । तर, क्यामेरा मार्फत सार्वजनिक भएका कुराले भने केही संकेत पक्कै गर्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार