Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

देउवासँग ओलीको रमाइलो, किन भए यति धेरै उत्साहित ?


बुधबार नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा गरेको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि लिएर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, रास्वपाका सभापति रवि लामिछाने, नेकपा महासचिव विप्लब हुँदै कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेता कार्यकर्ता पुगेका थिए । विभिन्न पार्टीका नेता कार्यकर्तादेखि सर्वसाधारणसम्मको उपस्थितीले एमाले पार्टी कार्यालयको प्रांगण भरिभराउ भएको थियो ।

अन्य पार्टीका शीर्ष नेता मञ्चमा पुग्दा प्रांगणमा रहेका एमाले कार्यकर्ताले त्यति साह्रो वास्ता गरेनन् जति वास्ता कांग्रेस सभापति शेरबहादुर देउवा पुग्दा गरे । मञ्चमा देउवा उक्लिदै गर्दा अनि पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीसँग देउवाले हात मिलाउँदै गर्दा एमालेका कार्यकर्ताले उत्साहित तबरमा ताली बजाए ।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि देउवासँग फरक प्रकारको उत्साहजनक हाउभाउ देखाए । देउवा र आफूबीच नयाँ सहमति भएजसरी देउवाको हात उचाले । कार्यकर्ताहरुतर्फ फर्किएर यसरी हात हल्लाए कि मानौं दुई नेताका बीचमा भर्खरै सत्ता सहकार्यको सहमति या अरु त्यस्तै केही भएको छ ।

ओली र देउवाको यो हाउभाउ मञ्चमा देखिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल भने पार्टी कार्यालयको गार्डेनतिर प्रवेश गरिसकेका थिए । त्यसअघि प्रधानमन्त्री दाहाल ओलीसँगै मञ्चमा देखिँदा औपचारिकताका लागि दुबै नेताले हात त हल्लाएका थिए । तर, देउवासँगको जस्तो उत्साह ओलीमा देखिएको थिएन ।

प्रचण्ड नेतृत्वको सरकार दुई तिन महिनामा नै ढल्ने अभिव्यक्ति एमाले नेताहरुबाटै आइरहेको समयमा देउवा र ओलीको दरिलो हात मिलाई र हात हल्लाईले धेरै कुराको संकेत गरेको छ भने देउवा र ओलीको यो उत्साहले माओवादी वृत्तमा शंसय पैदा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार