राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलमाथि नैतिक प्रश्न खडा भएको छ । व्यक्ति हत्या आरोपमा जेल जीवन बिताइरहेका रिगललाई आममाफी दिएर आलोचित बनेका राष्ट्रपति पौडेल सर्वोच्चको आदेशपछि थप आलोचित बनेका हुन् । उनले तत्काल राजीनामा दिनुपर्ने आवाज उठेको छ ।
सरकारको निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकाललाई फेरि पक्राउ गर्न सर्वोच्चले बिहिबार दिउँसो आदेश दिएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा पक्राउ परी यसअघि जेल जिवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि मानन्धरकी पत्नी भारती मानन्धर सर्वोच्च अदालत गएकी थिइन् । सर्वोच्चले उनका पक्षमा फैसला सुनाउँदै रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गरिदिएको हो । सर्वोच्चको यो निर्णयसँगै सरकार र राष्ट्रपति रामचन्द्र पौडेललाई गम्भिर झड्का लागेको छ । नैतिकताका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि लिएर राष्ट्रपति रामचन्द्र पौडेलसम्मले राजीनामा दिनुपर्ने आवाज उठेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ । यसअघि आममाफी दिने सरकारको कदमको विरोधमा भारती अनसन बसेकी थिइन् भने सर्वोच्च अदालतमा रिट दायर गर्न जाँदा र दुई दिन अघि राजधानीको रिपोर्टस क्लबमा भएको कार्यक्रममा उनी बेहोस भएकी थिइन् । उनका पक्षमा विभिन्न अभियन्ता सहित अधिकारकर्मीहरुले आवाज उठाउँदै आएका थिए ।