सरकारको नेतृत्व गरिएको माओवादी केन्द्रले मंसिर २२ मा गर्ने भनिएको काठमाडौं केन्द्रीत सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । आफैं सरकारमा रहेर सडक आन्दोलन गर्न लागेको भन्दै माओवादी केन्द्रको आलोचना भइरहेका बेला माओवादी केन्द्रले पश्चिममा गएको भुकम्पलाई कारण देखाउँदै सडक संघर्षका कार्यक्रम रोकेको हो । देशमा पूर्वराजा र राजसंस्था पक्षधरहरुको सामाजिक सञ्जालदेखि सडकमा समेत बाक्लो उपस्थिती देखिन थालेको आन्तरिक ठम्याई सहित माओवादी केन्द्रले काठमाडौमा आगामी मंसिर २२ गते सडक आन्दोलन गर्ने तयारी गरेको थियो । आफैं सरकारमा रहेर आफैंले सडक आन्दोलन गर्नु नेपाली राजनीतिको अर्को गाईजात्रा भन्दै टिप्पणी भइरहँदा माओवादी केन्द्रलाई सडक आन्दोलन रोक्ने बहाना पश्चिमको भुकम्प बनेको छ ।
राजसंस्था पक्षधरहरुले माओवादी केन्द्रले सडक आन्दोलन गर्नुभन्दा प्रहरी प्रशासन लगाएर आफूहरुलाई पक्राउ गरेर देखाउँन चेतावनी दिएका थिए भने आफूहरुसँग सरकार डराएको भन्दै उत्साहित समेत बनेका थिए । सडकमा दुर्गा प्रसाईदेखि लिएर राजसंस्था पक्षधरहरुका अभियानले तिब्रता पाउँदै गइरहेका बेला माअोवादी केन्द्रले अहिलेको व्यवस्थामाथि चुनौती थपिदै गएको आन्तरिक निष्कर्ष सहित उनीहरुलाई तह लगाउँन सडकमा मान्छे उतार्ने तयारी गरेको थियो । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त वर्षा सकिएपछि लाखौं मान्छे सडकमा उतार्ने भन्दै केही महिना पहिले नै राजसंस्था पक्षधरहरुलाई चेतावनी दिएका थिए । उनले आर्यघाटमा सेलाइसकेको राजसंस्था फेरि फर्कन नसक्ने तर, राजसंस्था पक्षधरहरुको चुरीफुरी ठिक पार्नका लागि पनि सडकमा मान्छे उतार्नुपर्ने अवस्था आएको बताएका थिए ।
अहिलेको व्यवस्था जोगाउँनका लागि र व्यवस्थाबारे जनतालाई बुझाउनका लागि सडकमा मान्छे उतार्नुपर्ने माओवादी नेताहरुको बुझाई थियो । तर, सडकमा मान्छे उतारेर भन्दा पनि आफैंले सरकारको नेतृत्व गरिरहेको यो समयमा राम्रा काम गरे मात्रै व्यवस्था जोगिने भन्दै बुद्धिजीवी सर्कलबाट समेत माओवादी नेतृत्वलाई दबाब गएको थियो । राजसंस्था पक्षधरका विरोधमा सडक संघर्ष गर्दा त्यसले राजसंस्था पक्षधहरुलाई अनावश्यक स्पेश दिएको मानिने र सरकारमा नै रहेर आन्दोलन गर्दा त्यसले अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो सन्देश नजाने भन्दै माओवादी केन्द्र भित्रै पनि मंसिर २२ को सडक आन्दोलनबारे एकमत थिएन । सरकारमा रहेरै सडक आन्दोलनमा जाँदा त्यसले माओवादी केन्द्रको उचाई बढाउने नभई घटाउने विश्लेषण केही माओवादी नेताहरुको थियो । माओवादीले गर्ने भनेको आन्दोलनअघि राजसंस्था पक्षधर दुर्गा प्रसाई लगाएतको आन्दोलन रहेको र प्रसाईहरुले उतारे जति मान्छे माओवादी आन्दोलनमा उतार्न नसकिए त्यसबाट झनै गलत सन्देश जाने केहीको बुझाई थियो । तर, घोषणा गरिसकेको आन्दोलन त्यत्तिकै रोक्न पनि माओवादी नेतृत्वलाई अप्ठयारो थियो । तर, त्यही अप्ठयारोका बीचमा पश्चिममा गएको भुकम्प आन्दोलन रोक्नका लागि माओवादी नेतृत्वलाई गतिलो बहाना बन्यो ।
अहिले माओवादीले पश्चिममा गएको बिनाशकारी भुकम्पपछिको पुनर्निमाण र राहत वितरण लगाएतका काममा पार्टी पंक्ति खटिनुपर्ने भएकाले सडक संघर्ष स्थगित गरेको बताएको छ । त्यो पार्टीका नेताहरुले सडक संघर्ष स्थगित गर्नुपर्नाको कारण भुकम्पलाई देखाएका छन् । तर, माओवादी पार्टी पंक्ति मंसिर अन्त्य सम्म पनि भुकम्प प्रभावित क्षेत्रमै खटिएछ भने हो रहेछ भनौंला नत्र यसलाई माओवादीको बहाना भन्दा अन्यथा नहोला ।
त्यसो त भुकम्प जानुअघि पनि माओवादीका केही नेताहरुले मंसिर २२ को सडक आन्दोलन राजसंस्था पक्षधरहरुका विरुद्धमा भएको भन्ने भाष्य मिडियाले स्थापित गर्न खोजेको भन्दै असन्तुष्टी जनाएका थिए । २२ गतेको सडक प्रदर्शन माओवादीले सञ्चालन गर्दै आएको रुपान्तरण अभियानकै निरन्तरता मात्रै भएको उनीहरुको भनाई थियो ।
आखिर कुरा जे होस् , सरकारमै रहेको पार्टीले सडक आन्दोलन गर्ने भन्नु राजनीतिक हिसाबले सुहाउने विषय थिएन । खै के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै थियो २२ गते गर्ने भनिएको सडक संघर्ष । अहिले आएर कारण जे सुकै होस् उसले सडक संघर्ष नगर्ने भनेको छ यसलाई चाहिँ राम्रो मान्नुपर्छ । ढिलै भएपनि पलाएको बुद्धिको प्रशंसा गर्नुपर्छ ।