
दुर्गा प्रसाई ठूला राजनीतिक दलहरुका लागि यतिबेला टाउको दुखाईका पात्र बनेका छन् । अहिले उनले सञ्चालन गरिरहेको अभियानले गणतन्त्र पक्षधर दल र तीनका नेताहरुको मनमा एक प्रकारले ढ्यांग्रो नै ठोकेको विश्लेषण केहीको छ । तर, गणतन्त्र पक्षधर दलहरु एकजना व्यक्तिसँग यति धेरै किन डराइरहेका छन् त्यो कुरा बुझ्न भने गाह्रो छ ।
दुर्गा प्रसाईँ नेतृत्वको अभियानले मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भनेर केही साताअघि देखि नै प्रचार गरिरहेको थियो । उनको प्रचारले व्यापकता पाउँदै गइरहेका बेला एमालेको युवा दस्ता युवा संघले पनि अहिले त्यहि दिन काठमाडौंमा जनप्रदशर्नको घोषणा गरेको छ । एक हिसाबले भन्ने हो भने युवा संघको मंसिर ७ को प्रदर्शन दुर्गा प्रसाईँसँगको सिंघौरी जस्तो देखिन्छ ।
एमालेको युवा संघ र दुर्गा प्रसाई त परस्पर विरोधी शक्ति जस्ता नै भएका छन् यतिबेला । युवा संघका नेता कार्यकर्ता र दुर्गा प्रसाईँको दोहोरी अहिले सामाजिक सञ्जालमा व्यापक छ । त्यसो त दुर्गा प्रसाई नेतृत्वको अभियानले गर्न लागेको जनप्रदर्शनको मिति मंसिर ७ नजिकिदै गर्दा ठूला राजनीतिक दलहरुले सिंहदरबारमा बैठक नै बसालेका छन् ।
मंगलबार प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक जसमा उतिबेला १२ बुँदे सझदारीमा सामेल रहेको भनिएका दलहरुलाई बोलाइएको थियो । उक्त बैठकमा केही नेताले दुर्गा प्रसाईको नाम नै लिएर अब यत्तिकै नछाडौं व्यवस्था जोगाउँन सबै दल एकठाउँमा उभिऔं भनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यसको अर्थ ठूला दल अहिले दुर्गा प्रसाईँको अभियानबाट तर्सिएका छन् ।
एकजना व्यक्ति दुर्गा प्रसार्इँबाट तर्सिनुपर्ने स्थिती ठूला राजनीतिक दलका लागि कसरी आयो होला ? यो उनीहरु स्वयंले आत्मसमीक्षा गर्नुपर्ने विषय हो । तर, दुर्गा प्रसाईँसग ठूला दलहरु जसरी तर्सिरहेका छन् त्यति धेरै तर्सिनुपर्ने स्थिती भने यतिबेला आइनसकेको बताउँछन् राजनीतिक विश्लेषक आनन्दराम पौडेल । उनको बुझाई त दुर्गा प्रसाईँका मामलामा अझ फरक छ उनी भन्छन्, दुर्गा प्रसाईँको अभियान व्यापक बन्दै गएको भएपनि उनी आफ्नै अपरिपक्व अभिव्यक्तिले समस्यामा पर्दैछन् ।