दुर्गा प्रसाईँ र महेश बस्नेत कुनैबेला एउटै पार्टीमा रहेर राजनीति गरेका मान्छे हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका दुबै जना कुनैबेलाका विश्वासपात्र हुन् । महेश बस्नेत र दुर्गा प्रसाईँ दुबै जना ओलीको किचेनदेखि बेडसम्म नै पहुँच भएका मान्छे हुन् । महेश बस्नेत पहिल्यैदेखि ओलीका प्रिय हुन् भने दुर्गा प्रसाई माओवादी परित्याग गरेर एमाले प्रवेश गरेपछि ओलीका प्रिय बनेका मान्छे हुन् । तर, राजनीतिक रुपमा दुर्गा प्रसाई ओलीसँग पछि जोडिएका मान्छे भएपनि प्रसाईँका अनुसार ओलीसँगको पारिवारिक सम्बन्ध भने प्रसाईको पुरानो हो । पारिवारिक सम्बन्धकै त्यही कारणले होला अहिले पनि दुर्गा प्रसाई ओलीलाई हजुरबा भनेर सम्बोधन गर्छन् । यता महेश बस्नेत भने ओलीलाई बा भनेर सम्बोधन गर्छन् ।
ओलीलाई बा भन्ने महेश बस्नेत र ओलीलाई हजुरबा भन्ने दुर्गा प्रसाई केही समययता भने सार्वजनिक रुपमा शत्रुवत व्यवहार गरिरहेका छन् । कुनैबेला एउटै पार्टीमा रहेर ओलीको नजिक बन्न प्रतिष्पर्धा गरेका यी दुईमध्ये दुर्गा प्रसाई अहिले व्यवस्था बिरोधी अभियानमा छन् भने महेश बस्नेत व्यवस्था जसरी पनि जोगाउँनैपर्छ भनेर लागिरहेका छन् ।
व्यवस्था फाल्न लागेका दुर्गा प्रसाई ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको लगाएतका आरोप लगाइरहेका छन् भने व्यवस्था जोगाउँन लागिपरेका महेश बस्नेत दुर्गा प्रसाईको त्यो आरोपको प्रतिवाद गरिरहेका छन् । आरोप लगाउँने र प्रतिवाद गर्ने क्रममा एक अर्कामाथि यी दुई यसरी खनिएका छन् कि कुनै सिमा र मर्यादा सायद अब बाँकी छैन ।
एक पक्षबाट गुण्डा, डन जस्ता शब्द अनि अर्का पक्षबाट माफिया, तस्कर जस्ता शब्द सामान्य नै बनिसकेका छन् । एकले अर्कालाई देखाइदिने अभिव्यक्ति सार्वजनिक कार्यक्रमहरुमा दुर्गा प्रसाई र महेश बस्नेतले पटक पटक दिइरहेका छन् । युवा संघको इन्चार्ज समेत रहेका महेश बस्नेत र दुर्गा प्रसाईका सडक कार्यक्रम मंसिर ७ मा एकैदिन राखिएका छन् । यो देख्दा लाग्छ, यी दुई साँच्चै सडकमै भिड्ने मनस्थितीमा छन् । कतिपयले त त्यो दिन प्रशासनले संयमता नअपनाए सडकमा नराम्रो परिस्थिती सृजना हुने भन्दै चिन्ता नै व्यक्त गरेका छन् ।
आखिर महेश बस्नेत र दुर्गा प्रसाई किन आमनेसामने हुन चाहिरहेका होलान् ? यीनीहरु आफ्नै अन्तस्करणले अघि बढिरहेका छन् या कोही कसैको निर्देशनमा चलिरहेका छन् ? यो यतिबेला धेरैका लागि सोचनीय विषय बनेको छ । दुर्गा प्रसाई राजसंस्था फर्काउने अभियानमा छन् । अनि त्यो अभियानको उदघाटन पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको मेची पुलमा आफ्ना परिवारका सबैजसो सदस्यको उपस्थितीमा गरेका थिए । त्यहीभएर धेरैले दुर्गा प्रसाई पूर्वराजाको बलमा बोलिरहेको र उनलाई पूर्व राजाको बलियो साथ रहेको अनुमान गरिरहेका छन् । यता महेश बस्नेत अहिले पनि एमालेमा ओलीको बलियो खम्बाका रुपमा छन् । ओलीले नै बस्नेतलाई प्रसाईका विरुद्धमा अघि बढ्न प्रत्यक्ष निर्देशन नै दिएका कारण उनी प्रसाई मामलामा आगो बनिरहेको केहीको विश्लेषण छ । दुर्गा प्रसाईले हजुरबा भन्दै आफ्ना विरुद्धमा विभिन्न आरोप लगाउँन थालेपछि ओली प्रसाईसँग रुष्ट बनेको र महेश बस्नेतलाई प्रसाई तह लगाउँने जिम्मा दिएको रुपमा पनि केहीले बुझेका छन् ।
कतिपयले भने प्रसाई र महेश बस्नेतबीचको अहिलेको द्धन्दलाई बनावटी र देखावटी पनि भन्न भ्याएका छन् । यी दुबै भित्री रुपमा अहिले पनि ओलीका प्यारा नै रहेको केहीको भनाई छ । त्यसो त दुर्गा प्रसाईले हिन्दू राष्ट्रको एजेण्डा आफूले ओलीले भनेपछि नै उठाएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । ज्ञानेन्द्र शाह र पारस शाहसँगको आफ्नो भेट उतिबेला ओलीकै निर्देशनमा भएको दुर्गा प्रसाईको भनाई छ । आफू एमालेमा रहँदा ओलीको सल्लाह अनुसार नै अघि बढेको उनले बताएका छन् । मनमा भएका सबै कुरा छताछुल्ल पार्ने स्वभावका दुर्गा प्रसाईको यो भनाई कति सत्य हो या होइन त्यो दुर्गा प्रसाई र केपी ओलीले नै जानून् । तर, एक अर्कामाथि उनीहरु जसरी खनिँदैछन् त्यसले भने धेरैका मनमा प्रश्न उब्जाएको छ । र, धेरैले सोध्न थालेका छन् ः दुर्गा प्रसाई र महेश बस्नेतहरु आफ्नै अन्तस्करणले एकअर्कामाथि खनिदैछन् या उनीहरुलाई भिडाउँने ज्ञानेन्द्र शाह, केपी ओली या अरु कोही छन् ?