नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चम्चेहरुले राजतन्त्र चाहिन्छ भन्नुलाई आफूहरुले सामान्य रुपमा लिएको बताएका छन् । बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले तत्कालिन राजसंस्थाका ढोके, हुक्के र चम्चेहरुले राजसंस्था चाहिन्छ भन्नुलाई आफूहरुले सामान्य रुपमा लिएको बताएका हुन् ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि खतरा रहेको भन्दै अहिले सामाजिक सञ्जालमा केहीले हौवा पिटिरहेको भएपनि आफूले त्यस्तो कुनै खतरा नदेखेको पुनले बताए । इतिहास भइसकेको वंश परम्परामा आधारित राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने ठोकुवा गर्दै उनले त्यस्तो प्रयास कोही कसैले गरे तीनलाई परास्त गर्ने बताए । निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको भन्दै उनले तिनै व्यक्तिले राजतन्त्रको वकालत गर्नु नौलो नभएको उनले तर्क गरे । पुनले भने : ‘सानो समूहमा रहेका केही पश्चगामी र निरंकुशतन्त्र पक्षपातीहरूले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए । तिनीहरू स्वाभाविक रूपले राजतन्त्रकै निरन्तरता चाहन्थे । वंशाणुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरकारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरुले राजतन्त्र चाहिन्छ भन्नुलाई बिलकुल अस्वाभाविक मान्नुपर्दैन ।’
राजतन्त्रका समयमा पाएको दुःखको सम्झना जनतालाई झल्झली आइरहेको बताउँदै पुनले जनता राजसंस्थाका पक्षमा कुनै हालतमा नउभिने दाबी गरे । राजतन्त्रमा जनताले राज्यका लाभ नपाएको स्पष्ट रहेको भन्दै आमजनता गणतन्त्रको पक्ष र राजतन्त्रको विपक्षमा रहेको पुनको भनाई थियो । राजतन्त्रबाट लाभ पाएको वर्गले मात्रै अहिले राजसंस्था भनिरहेको बताउँदै उनले भने, ‘सधैँ राजतन्त्रबाट लाभ लिएको वर्ग र समुदायले गणतन्त्र भत्काउन पाए फेरि गुमेको स्वर्ग फर्कन्थ्यो कि भन्ने ठान्नु अन्यथा होइन, त्यो वर्ग र शक्ति आज असान्दर्भिक भइसकेको छ ।’
दुई दिनअघि १२ बुँदे समझदारी पक्षधर दलहरुले गरेको बैठकतर्फ इंगित गर्दै पुनले जनआन्दोलन र जनयुद्धका उपलब्धि जोगाउन आफूहरु एकैठाउँमा उभिएको बताए । जनआन्दोलन र जनयुद्धका उपलब्धिहरुको रक्षा गर्नु आफूहरुको कर्तव्य पनि रहेको भन्दै उनले त्यही कर्तव्य निर्वाह गर्न ठूला दलहरु एक ठाउँमा उभिएको बताए । आधुनिक नेपालको राजनीति १२ बुँदे समझदारीको जगबाट अघि बढेकाले त्यस पक्षधर शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने अहिलेको आवश्यकता भएको उनको तर्क थियो । आफूहरुबीच दिनदिनैका राजनीतिक एजेन्डाहरुमा विमति रहने गरेको भएपनि पछिल्लो उपलब्धि बचाउने सवालमा भने कोही कसैबीच विमति नरहेको पुनले बताए ।