Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

मंसिर ७ नजिकिँदा प्रधानमन्त्री तातिए, सुरक्षा प्रमुखसँग ब्रिफिङ


मंसिर ७ को मिति नजिकिदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षा अवस्थाका विषयमा चासो राखेका छन् । मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको अभियान र एमालेको युवा दस्ता राष्ट्रिय युवा संघले एकै साथ काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री दाहालले सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षा अवस्थाका विषयमा चासो राखेका हुन् । परस्पर बिरोधी विचारधारा बोकेका दुई समुहले काठमाडौंमा एकैसाथ शक्ति प्रदर्शन गर्ने घोषणा गरेपछि त्यसदिन के होला भन्ने आम चिन्ता बढिरहेका बेला प्रधानमन्त्री दाहालले पनि सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षा स्थितीबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायका प्रमुखहरुसँग आफूले सुरक्षा अवस्थाबारे जानकारी लिएको बताए । उनले सुरक्षा निकायका प्रमुखहरुले देशको सुरक्षा अवस्थाका विषयमा चिन्ता लिनुपर्ने स्थिती नरहेको आफूसँग बताएको जानकारी दिए ।

अहिले व्यवस्था बिरोधीहरु सल्बलाउँन थालेको बताउँदै प्रधानमन्त्री दाहालले गणतन्त्र पक्षधरहरु एकजुट भएर व्यवस्थाबिरोधीहरुलाई तह लगाउँने बताए । व्यवस्था बिरोधीका अराजक गतिविधी सरकारले सहेर नबस्ने भन्दै उनले व्यवस्था रक्षाका लागि सबै दल एकठाउँ उभिने दाबी गरे । १२ बुँदे पक्षधरहरु गणतन्त्र, संघियता लगायतका उपलब्धि रक्षाका लागि एकै ठाउँ उभिएको दाबी गर्दै उनले व्यवस्था बिरोधीका कृयाकलापलाई सरकारले नजिकबाट नियालिरहेको बताए । केही व्यवस्था बिरोधीका गतिविधीबाट आत्तिनुपर्ने अवस्था नरहेपनि सजग बन्नु पर्ने स्थिती भने रहेको उनको भनाई थियो ।

व्यवस्थामाथि धावा बोल्नेहरुलाई आफूहरुले केही गरिरहनु नपर्ने भन्दै उनले जनताले नै ठिक पार्ने बताए ।
यसैबीच एकैदिन मंसिर ७ गते गणतन्त्र पक्षधर र गणतन्त्र विरोधीले राजधानीमा शक्ति प्रदर्शनको तयारी गरिरहँदा प्रधानमन्त्री दाहालले सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुलाई केहीले सकारात्मक रुपमा लिएका छन् । प्रधानमन्त्री दाहालले जानकारी लिएर मात्रै बस्ने भन्दा पनि सुरक्षा स्थिती भड्किन नदिनका लागि चनाखो बन्नुपर्ने उनीहरुको भनाई छ । दुर्गा प्रसाईँ नेतृत्वको अभियानले मंसिर ७ का लागि भनेर निकै पहिले नै आन्दोलनको घोषणा गरेको अवस्थामा एमालेको युवा दस्ताले पनि त्यही दिन काठमाडौंमा आन्दोलनको घोषणा गर्नु मुठभेडको मनसाय भएको उनीहरुको तर्क छ । अरु कुनैपनि दिन नै नआउने जस्तो गरी दुई फरक फरक शक्तिले एकैदिन बिरोध प्रदर्शन गर्दा परिस्थिती बिग्रन सक्ने भन्दै केहीले चिन्ता व्यक्त गरेका छन् । कतिपयले त्यो दिन सरकारले कफ्र्यु लगाएर भएपनि स्थिती बिग्रन दिन नहुने बताएका छन् भने केहीले कफ्र्युतर्फ सरकार लाग्नै नहुने भनेका छन् । कफ्र्यु लगाउँनु भनेको जनताको बिरोध प्रदर्शनको हकलाई कुण्ठित गर्नु भएको उनीहरुको भनाई छ ।

यता केहीले भने दुबै पक्षलाई सो दिनको बिरोध प्रदर्शन फिर्ता लिनका लागि आग्रह गरेका छन् । मुठभेडको स्थिती निम्तिन नदिन दुबैले संयमता अपनाउनुपर्ने उनीहरुको भनाई छ । तर, दुर्गा प्रसाईँ पक्षधर र युवा संघका नेताहरुले आ आफ्ना कार्यक्रम कुनै हालतमा फिर्ता नहुने बताएका छन् । दुर्गा प्रसार्इँ पक्षधरहरुले आफूहरुले निकै पहिले आन्दोलनको घोषणा गरेको भन्दै आफूहरुसँग निहुँ खोज्न युवा संघले आन्दोलनको घोषणा गरेकाले उनीहरु नै पछि हट्नुपर्ने बताएका छन् । तर, युवा संघले भने बिरोध प्रदर्शन कुनै हालतमा नरोकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार