
व्यवस्थामाथि खतरा आयो भन्दै देशका ठूला राजनीतिक दलका नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाह र राजसंस्था पक्षधरमाथि गालीको वर्षा वर्षाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने यतिबेला पार्टीका नेताहरु सहित गाउँ पसेका छन् । व्यवस्थामाथि खतरा नभएको भन्दै उनी गाउँ पसेका हुन् । आक्रामक संगठन विस्तारमा केन्द्रित हुँदै आएका लामिछानेले गएको मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनेका आफ्नो पार्टीका सबैलाई जनताका घर घरमा गएर आफूहरुले यसअघि गरेको प्रतिबद्धता नबिर्सिएको भन्दै घरदैलो गर्न निर्देशन दिएका छन् । अहिले लामिछाने सहितका नेताहरु गृहजिल्ला पुगिसकेका छन् । चुनावका बेला नमस्कार गर्दै घरदैलो गर्ने तर, त्यसपछि फर्केर पनि जनतालाई नहेर्ने परिपाटीको अन्त्यका लागि आफूहरुले चुनाव भएको एक वर्ष पुगेका अवसरमा घरदैलो गर्न लागेको उनीहरुको भनाई छ ।
ठूला दल र तीनका नेताहरुले व्यवस्थामाथि खतरा उत्पन्न भएको भन्दै राजसंस्था पक्षधरलाई गाली गरिरहेका बेला रास्वपाले भने व्यवस्थामाथि कुनै खतरा नभएको निष्कर्ष सहित जनताको घरदैलोमा जानुलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ । ठूला दल र नेताहरुको ताल पुरानै रहिरहेका बेला रास्वपाले लिएको घरदैलो अभियानको नीतिले रास्वपालाई ठूलो लाभ पुग्ने विश्लेषकहरुको भनाई छ । रास्वपाले साँच्चै नयाँ दलको अनुभूति जनतामा दिलाएको भन्दै उसको शैलीलाई ठूला दलले पनि अनुशरण गर्नुपर्ने उनीहरुको भनाई छ ।
केहीदिनअघि रास्वपाका सभापति रवि लामिछानेले व्यवस्थामाथि खतरा व्यवस्था बिरोधीबाट भन्दा पनि व्यवस्था पक्षधरहरुबाटै भएको भन्दै हल्लाका पछि नलाग्न सबैमा आग्रह गरेका थिए । अहिले राजसंस्था पक्षधरहरुबाट व्यवस्थामा चुनौती थपिएको भन्ने आफूहरुलाई नलागेको भन्दै उनले ठूला दल आफ्नै कमजोरीका कारण सकिने बताएका थिए । अन्त्य भइसकेको राजसंस्था फर्कने कल्पना पनि गर्न नसकिने बताउँदै लामिछानेले ठूला दलको मनपरीबाट भने व्यवस्थाप्रति असन्तुष्टी बढेको टिप्पणी गरेका थिए । तर, अहिलेकै व्यवस्थामा रहेर अवस्था सुधार्न आफूहरु तयार रहेका कारण जनता निराश बन्नुपर्ने स्थिती नरहेको उनको भनाई थियो । आफूहरुको दलमाथि जनताको अगाध विश्वास रहेको भन्दै लामिछानेले ठूला दललाई बिदा गर्न सके व्यवस्था स्वतः मजबुत हुने दाबी गरे । ठूला दलको मनपरी नरोक्ने हो भने चाहिँ व्यवस्थामाथि संकट उत्पन्न हुन सक्ने उनको भनाई थियो ।
१२ बुँदे समझदारी पक्षधरहरुको बैठक केहीसमयअघि सिंहदरबारमा बसेपछि आक्रामक रुपमा प्रस्तुत भएका लामिछानेले हेडसरहरु भन्दै सामाजिक सञ्जाल फेसबुकमा कडा स्टाटस लेखेका थिए । जाजरकोटमा भुकम्प गएको तेस्रो दिन सिंहदरबारमा व्यवस्थाप्रति चिन्ता लिँदै बैठक बसेको भन्दै रवि लामिछानेले ठूला भनाउँदा हेडसरहरुका कारण चाहिँ व्यवस्था धरापमा पर्न सक्ने बताएका थिए । भुकम्पले जनताको बिचल्ली भइरहेका बेला दलहरुले व्यवस्थाको चिन्ता लिएको देख्दा आफू अचम्मित र क्रोधित भएको उनको भनाई थियो । जनताको पक्षमा काम गर्नुपर्नेमा सिंहदरबारमा बैठक बसेर के तमासा देखाएको भन्दै उनले ठूला दललाई कि सुध्रिन कि सक्किनँ चेतावनी दिएका थिए । त्यसको केही समयअघि उनले सबै दल एकातिर र आफूहरु अर्कातिर भएर चुनाव लड्न तयार रहेको बताएका थिए । अरु दलहरुलाई महागठबन्धन गरेर आफूहरुसँग लड्न चुनौती दिँदै उनले ४ वर्ष राम्रा काम गर्न र त्यसपछि तागत भए आफूहरुलाई परास्त गर्न भनेका थिए ।