Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

दुर्गा प्रसाईहरुलाई काठमाडौंमा छिर्न नदिन गौंडा गौंडामा बस्छौ : युवा संघ


नेकपा एमालेको मुल नेतृत्वले समेत मंसिर ७ गतेलाई प्रतिष्ठाको विषय बनाएपछि त्यसदिन के होला भन्ने आम कौतुहलता र चिन्ता बढेको छ । मंसिर ७ गतेकै दिन एमालेको युवा दस्ता राष्ट्रिय युवा संघले काठमाडौंमा शक्ति प्रदर्शनको घोषणा गरेको छ भने उक्त प्रदर्शनमा खुट्टा भाँचिएका, ढाडको समस्या भएका अशक्त बाहेकका युवालाई घरमा नबसी आन्दोलनमा जान एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । ओलीको यो कडा निर्देशनका कारण मंसिर ७ एमालेले प्रतिष्ठाको विषय बनाएको बुझ्न कठिन छैन । ओलीको यो निर्देशन आएसँगै युवा संघका नेता कार्यकर्ता उत्साहित भएका छन् भने उनीहरुले दुर्गा प्रसाई नेतृत्वको अभियानलाई विफल पारिदिने चेतावनी दिएका छन् । युवा संघका केही नेताले सार्वजनिक रुपमा भनेका छन्, दुर्गा प्रसाईहरुलाई काठमाडौंका कुनैपनि गौंडाबाट छिर्न दिइन्नँ । प्रतिगमनका प्रेतात्माहरुलाई गौंडा गौंडाबाटै लखेटिन्छ ।
त्यसो त एमालेको युवा संघका इन्चार्ज महेश बस्नेतले शनिबार एमाले मुख्यालय परिसरमा दुर्गा प्रसाईको आन्दोलनलाई भुसुनाहरुको आन्दोलन भनी कडा टिप्पणी गरेका छन् । भुसुनाहरुको आन्दोलन त्यत्तिकै बिलाउँने र प्याट्ट पार्दा भुसुनाहरु सकिने उनको भनाई छ । एमालेको युवा संघ हात्ति भएको र दुर्गा प्रसाईहरु भुसुना भएको बताउँदै उनले हात्तीसँग निहुँ नखोज्न चेतावनी दिएका छन् । उनको यो चेतावनीलाई दुर्गा प्रसाई नेतृत्वको अभियानका अभियन्ताहरुले भने एमालेको हतास मानसकिताको उपज भनेका छन् । एमाले आफूहरुसँग व्यापक रुपमा डराएको भन्दै उनले एमालेको कालो कर्तुत थप सार्वजनिक हन्छ भन्ने डरका कारण महेश बस्नेतहरु अत्तालिएको बताएका छन् । त्यो दिन आफूहरुले महेश बस्नेत, केपी ओली लगाएत एमालेका नेताहरुले विदेशमा गरेको लगानीको प्रमाण सार्वजनिक गर्ने यसअघि नै बताइसकेका कारण ती प्रमाण सार्वजनिक नहोस् भन्नका लागि उनीहरुले जथाभावी बोलेको दुर्गा प्रसाई पक्षधरको भनाई छ ।
आफूहरुलाई काठमाडौंका गौडा गौंडाबाट छिर्न नदिने भनी युवा संघका नेताहरुले दिएको अभिव्यक्ति अराजकताको पराकाष्ठा भएको बताउँदै उनीहरुले युवा संघको अराजकता निष्तेज पारेरै छाड्ने बताउँदै आफूहरुलाई रोक्ने भनेका युवा संघका कार्यकतालाई जनताले ठिक पार्ने चेतावनी दिएका छन् । मंसिर ७ को आन्दोलन आफूहरुले महिनौंअघिबाट घोषणा गरेको भन्दै उनीहरुले देशभक्तहरुसँग जिस्किन आए जनताले हातमा दही जमाएर नबस्ने बताउँदै दुर्गा प्रसाई पक्षधरहरुलाई जनतासँग नजिस्किनँ भनेका छन् ।
यसैबीच एमालेको युवा दस्ता युवा संघले दुर्गा प्रसाई पक्षधरहरुलाई गौंडा गौंडाबाट काठमाडौं छिर्न नदिने भनी दिएको अभिव्यक्तिप्रति केहीले आपत्ति जनाएका छन् । बिरोध गर्न पाउँने जनताको अधिकारमाथि नै खुलमखुला चेतावनी आइरहेका बेला समेत सरकार मौन रहनु आश्चर्यजनक भएको उनीहरुको भनाई छ । संविधानको रक्षा गर्छौं भन्नेहरुले विरोध प्रदर्शनमा समेत अवरोध गर्न खोज्नु संविधान विरोधी भएको बताउँदै उनीहरुले संयमता अपनाउँन एमाले नेतृत्वलाई सुझाव दिएका छन् । एमालेको युवा संघका नेताहरुले भने जस्तै गौंडा गौंडाबाट नै दुर्गा प्रसाईहरुलाई काठमाडौं छिर्न नदिने रणनीति एमालेले लिएको हो भने यसबाट मुठभेड निम्तिन सक्ने उनीहरुको चिन्ता छ । मुठभेडतर्फ परिस्थिती नजाओस् भन्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !
विचार