Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

७ गतेका लागि ३ ट्रक खाद्यान्न, दुर्गा प्रसाईहरुको तयारी यस्तो


दुर्गा प्रसाई नेतृत्वको अभियानले यही मंसिर ७ गते काठमाडौंमा गर्न लागेको शक्ति प्रदर्शनको तयारीलाई तिब्र बनाएको छ । ७ गते देखि निरन्तर काठमाडौंमा आन्दोलन गरेर अहिलेको व्यवस्था नै फाल्ने घोषणा गरेको यो अभियानले काठमाडौं बाहिरबाट सयौं गाडी उपत्यका प्रवेश गराइसकेको छ भने ६ गते देखि नै काठमाडौं प्रवेशका नाकाहरुमा हुन सक्ने कडाईलाई ध्यान दिएर इच्छुकहरुलाई आफ्नो तबरले काठमाडौ आउन भनिसकेको छ । अहिले विभिन्न जिल्लाबाट सार्वजनिक बसदेखि लिएर रिजर्भ गरिएका सवारी साधनमा दुर्गा प्रसाई नेतृत्वको अभियानका लागि धमाधम मान्छेहरु आइरहेको बुझिएको छ ।

लगातारको आन्दोलनका लागि ३ ट्रक बराबर खाद्यान्न जोहो भइसकेको बुझिएको छ भने १० हजार थान ब्लांकेटको समेत प्रबन्ध भएको बताइएको छ । काठमाडौं उपत्यकाका केही पार्टी प्यालेसहरु ७ गतेदेखि लगातार केहीदिनका लागि बुकिङ नै गरिएको प्रसाई स्रोतले जनाएको छ । स्रोतका अनुसार केही पार्टी प्यालेस निःशुल्क उपलब्ध भएको छ भने केहीमा शुल्क तिरिएको छ । धर्म संस्कृति जोगाउँनका लागि भनिएको यो आन्दोलनमा आउँनेहरुलाई ओमकार झण्डा प्रयोगका लागि आग्रह गरिएको छ ।

करिब ४ हजार बस काठमाडौं बाहिरबाट त्यसदिनसम्म आन्दोलनकै लागि भनेर आउने दाबी दुर्गा प्रसाई पक्षधरहरुले गरेका छन् भने ७ गते एक लाख मान्छे कम्तीमा पनि उतार्ने उनीहरुको भित्री तयारी छ । यद्यपि दुर्गा प्रसाई पक्षधरहरुले भने २० लाख मान्छे उत्रने दाबी गरिरहेका छन् । आन्दोलनलाई संयमित र व्यवस्थित तुल्याउने चुनौती भने आफूहरुको रहेको एक अभियन्ताले बताए । आन्दोलनमा हुन सक्ने घुसपैठलाई ध्यानमा राखेर स्वयंसेवक दस्ता समेत तयार गरिएको उनको भनाई छ । एउटै ड्रेसमा मार्च पास गर्ने दस्तादेखि लिएर विभिन्न जातजाति र भेषभुषामा सजिएकाहरु झाँकी सहित सडक प्रदर्शनको तयारीमा रहेको दुर्गा प्रसाईको अभियानमा रहेका एक अभियन्ताले जानकारी दिए । उनका अनुसार सडकमै खाना खानेगरी सडकमै खाना पकाउँने तयारी पनि छ ।

मंसिर ७ कै दिन एमालेको युवा दस्ताले पनि आन्दोलनको घोषणा गरेको र यसलाई एमाले नेतृत्वले प्रतिष्ठाको विषय बनाएका कारण एमालेको युवा संघको तुलनामा आन्दोलन सभ्य र भव्य गर्न आन्तरिक सर्कुलर जारी गरिएको छ । विभिन्न धार्मिक संघ संगठनदेखि लिएर सहकारी र वित्तिय संस्था पीडित व्यक्तिहरुका समुहहरुले यो आन्दोलनमा समन्वयको जिम्मा लिएका छन् ।

यसैबीच एमाले नेतृत्व समेत दुर्गा प्रसाई नेतृत्वको अभियानसँग टक्कर लिन अघि सर्नुलाई कतिपयले दुर्गा प्रसाई र केपी ओलीको आन्तरिक लेनादेना नमिल्दाको परिणाम भनी टिप्पणी गरेका छन् । दुर्गा प्रसाईको ससुराली गिरीहरु रहेको र गिरिबन्धु टि स्टेटका मामलामा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला भएको निर्णयका कारण पनि दुर्गा प्रसाई बिच्किएको उनीहरुको तर्क छ । राजनीतिक विश्लेषक गोपाल प्रसाई केपी शर्मा ओली, राजेन्द्र लिङदेन र दुर्गा प्रसाईको अहिलेको टकराव झापाको आन्तरिक राजनीतिका कारण पनि भएको जिकिर गर्छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार