दुर्गा प्रसाई नेतृत्वको अभियानले ठूला राजनीतिक दलका नेताहरुको टाउको दुखाइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बैठक बसेको छ । वृहत शान्ति सम्झौता भएको १७ वर्ष पुगेका अवसरमा मंगलबार साँझ बसेको बैठकमा शान्ति प्रकृयाका विषयमा भन्दा पनि धेरै चर्चा दुर्गा प्रसाईकै विषयमा भएको बालुवाटार स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुर्गा प्रसाईको अराजकता सरकारले टुलुटुलु हेरेर बसेको भन्दै बैठकमा असन्तुष्टी जनाएका थिए । आफ्ना विषयमा प्रसाईले मनपरी भन्दा पनि सरकारले प्रसाईलाई छाडा छोडेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग ओलीले प्रसाईलाई नियन्त्रणमा नलिए प्रसाईको अराजकताले धेरै नेताहरुलाई बदनाम गर्ने बताएका थिए । प्रसाईका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले भने केही नबोलेको बुझिएको छ ।
प्रसाईबारे प्रधानमन्त्री प्रचण्ड र ओलीको सवालजवाफ सुनेर बसेका देउवाले प्रसाईका विषयमा कति कुरा गरेको भन्दै विषय वस्तु परिवर्तन गर्न आग्रह गरेका थिए । वृहत शान्ति सम्झौता भएको १७ वर्ष भइसक्दा पनि शान्ति प्रकृया टुंगोमा पु¥याउन नसकिएको भन्दै उनले प्रचण्ड र ओलीलाई प्रसाईका विषयमा चिन्ता लिनु भन्दा त्यतातिर ध्यान दिनु उपयुक्त हुने बताएको बालुवाटार स्रोतको भनाई छ ।