रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।
आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ ।
यसैगरी आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भद्र सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइतेहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक आठबिसकोट–९ का २१ वर्षीय गोपाल विक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।