
लोकप्रिय हास्य कलाकार मनोज गजुरेल एउटा प्रहसनका कारण यतिबेला व्यापक आलोचना र चर्चाको केन्द्रमा छन् । ओशो तपोवनको एउटा कार्यक्रममा उनले दिएको प्रस्तुतीका कारण उनी चर्चाृ र आलोचनाको केन्द्रमा रहेका हुन् । प्रस्तुतीका क्रममा उनले केही व्यक्तिको चाइनिज नामका बारेमा कुरा गर्छन् । अनेक तबरले हसाउन खप्पिस गजुरेलले अभियन्ता दुर्गा प्रसाई पनि अहिले एक प्रकारको नेता नै भएको भन्दै उनको चाइनिज नाम जुराइदिँदै भन्छन्ः लोन लि खा । बैंकबाट लोन लिने, नतिर्ने र खाइदिने काम प्रसाईले गरेको आशयका साथ उनले दुर्गा प्रसाईको चाइनिज नाम लोन लि खा राखिदिन्छन् । त्यतिमा मात्रै गजुरेल रोकिँदैनन् । गजुरेलले लोन लि खा सँगै नतिर भन्ने शब्द पनि थपिदिन्छन् ।
हास्य कलाकार गजुरेलले दुर्गा प्रसाईको चाइनिज नाम लोन लि खा भएको बताएपछि दुर्गा प्रसाई आगो भएका छन् । मनोज गजुरेललाई सामाजिक सञ्जालबाटै जवाफ दिँदै प्रसाईले गजुरेलको चाइनिज नाम चाहिँ यस्तो हुन्छ भन्दै उनको पारिवारिक सन्दर्भ जोडेका छन् । उनले गजुरेलको चाइनिज नाम बुढी छोड्दै डिभोर्स गर्दै जा भएको बताएका छन् । गजुरेल र प्रसाईले एक अर्कालाई दिएका चाइनिज नाम यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।
ओशो तपोवनको कार्यक्रममा आफूले दिएको प्रस्तुती मनोज गजुरेलले आफ्नो युट्युब च्यानल गजुरियलमा पनि अपलोड गरेका छन् । गजुरियलमा आएका कमेन्टमा पनि केही दर्शकले गजुरेलको कडा आलोचना गरेका छन् भने केहीले व्यापक प्रशंसा गरेका छन् । उनको हास्य प्रस्तुतीका क्रममा यसअघि सम्भवतः यति कडा आलोचना भएको थिएन । पहिलोपटक गजुरेलले आफ्नो प्रस्तुतीकै कारण आलोचना खेपिरहेका छन् । त्यसो त मनोज गजुरेलले ओशो तपोवनको कार्यक्रममा चाइनिज नाम भन्दै दुर्गा प्रसाईलाई मात्रै व्यंग्य गरेका थिएनन् । उनले अहिलेका गृहमन्त्री रवि लामिछाने र काठमाडौं महनगरपालिकाका मेयर बालेन शाहको पनि चाइनिज नाम राखिदिएका थिए । गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न केशको चाङ लाग्ने गरेको भन्ने आशयका साथ उनले रवि लामिछानेको चाइनिज नाम केश चाङका चाङ रहेको बताएका थिए । व्यंग्यात्मक शैलीमा उनले रवि लामिछानेको चाइनिज नाम के हो भनेर दर्शकलाई सोध्दै भनेका थिए, केश चाङकाचाङ । यसैगरी उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चाइनिज नाम चुपचाप ठोक राखिदिएका थिए । मेयर बालेन शाहले चुपचाप काम गरिरहेको आशयका साथ चुपचाप ठोक भनेका थिए ।
मनोज गजुरेलले दुर्गा प्रसाई, रवि लामिछाने र बालेन शाहलाई व्यंग्य गर्दै चाइनिज नाम राखिदिँदा रवि लामिछाने र बालेन शाहबाट कुनै आलोचना खेप्न नपरेपनि दुर्गा प्रसाईका तर्फबाट भने व्यापक आलोचना खेप्न परिरहेको छ । दुर्गा प्रसाईका समर्थकले गजुरेलको युट्युब च्यानल गजुरियलमै गएर आलोचनायुक्त कमेन्ट गरेका छन् । आफ्ना विषयमा आलोचना भइरहेपनि मनोज गजुरेलले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । यसअघिका प्रायः सबै प्रहसनबाट मनोज गजुरेलले वाहवाही नै कमाएका थिए । पछिल्लोपटक सार्वजनिक भएको उनको शहीदगेट नामक प्रहसनले त धेरैलाई सोचमग्न बनाएको थियो ।