Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

क्रिकेट खेल्न सन्दिप अमेरिका जान नपाउने


सन्दिप लामिछाने अमेरिका जान नपाउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेपछि उनी अमेरिका जान नपाउने भएका हुन् ।

आइसिसि टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो। भिसा प्रक्रियाका लागि लामिछाने बिहीबार दूतावास पुगेका थिए। यसअघि अन्तर्वार्ता दिन उनी गत जेठ ९ गते दूतावास पुगेका थिए। भिसा अस्वीकृत भएपछि उनी बिहीबार पुनः अन्तर्वार्ताका लागि दूतावास पुगेका थिए।

पहिलोपटक उनले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। सामाजिक सञ्जालमा प्रश्न उठेपछि अमेरिकी दूतावासले भिसाबारे कुनै टिप्पणी गर्न नमिल्ने प्रतिक्रिया दिएको थियो। त्यससँगै विश्वकप खेल्न अमेरिका पुगेको टोलीलाई शुभकामना समेत दिएको थियो।

‘उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भइ काम गरेका छन्।

अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको थियो। उच्च अदालत पाटनले लामिछानेलाई जिल्ला अदालत काठमाडौले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्टाउँदै सफाइ दिएको थियो।

लामिछानेको भिसा अस्वीकार भएपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाही, अभियन्ता निकोलस भुसाल, तारा बराल लगायतले लामिछानेको भिसाका लागि प्रदर्शनको अगुवाइ गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार