सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् ।
शुक्रबारदेखि लगातार आएको पानीले पहिरो आउँदा भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन् ।
पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएकोे प्रहरीले जनाएको छ। सोही वडाको स्याक्सिलागोलास्थित आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवनसहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ ।
प्रहरीका अनुसार सोही स्थानमा निर्माणाधीन पाँच शय्याको अस्पताल पनि पुरिएको छ। अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । पहिरोले भोटखोलाका विभिन्न सडक अवरुद्ध भएका छन् । छोङराङस्थित ग्रामीण विद्युत् कम्पनीको सामग्री बगाएको छ ।
बाढीपहिरोबाट भएको क्षतिबारे यकिन विवरण प्राप्त भएको छैन । विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।