Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

त्रिशुलीमा बेपत्ता दुइ बालक मध्ये एक शव फेला


शनिबार अपराह्न ४ बजेदेखि त्रिशुली नदीमा बेपत्ता भएका धादिङका दुइ बालक मध्ये एक बालकको शव फेला परेको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी बस्ने १५ वर्षीय युनिक सुवेदी र १३ वर्षीय रिदम रोइला बेपत्ता भएका थिए। उनीहरूमध्ये आइतबार दिउँसो युनिक सुवेदीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार खोजतलास गर्ने क्रममा शनिबार साँझ नदी किनारमा उनीहरूको कपडा र चप्पल भेटिएको थियो। कपडा र चप्पल आफ्नै बच्चाहरुको रहेको उनीहरुका अभिभावकले बताएका थिए । चप्पल र कपडा त्रिशुली नदि किनारमा फेला परेपछि दुई बालक बेपत्ता भएको भन्दै गएराति साढे ११ बजे सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि सशस्त्र प्रहरीको नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी मदनकुमार रसाइलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो। तर फेला पार्न नसकेपछि मध्यराति टोली फर्किएको थियो। आइतबार बिहान पुनः टोलीले खोजी गरेको थियो। आइतबार बिहान ११ बजेसम्म पनि फेला नपरेपछि कुरिनटारस्थित शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक धनकुमार अधिकारीको कमाण्‍डमा पाँच जना गोताखोर र दुई जना अन्य गरी सात जनाको टोली खटिएको थियो।

सो टोलीले सवा १ बजे एक जना बालकको शव फेला पारी निकालेको प्रहरीले जनाएको छ । कपडा र चप्पल फेला परेको करिब १०÷१५ मिटरनजिक करिब २० फिट गहिराइमा शव फेला परेको हो। अर्को बालकको खोजी कार्य जारी रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार