Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

सिमलताल पहिरोमा बगेकामध्ये दुइको शव भारतमा फेला पर्‍यो


चितवनको सिमलतालमा बससँगै बगेका २ जनाको शव भारतमा एसएसबीले फेला पारेको छ । भारतको पश्चिम चम्पारण बगाहामा एसएसबीले दुइजनाको शव फेला पारेर खबर गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जनाएका छन् ।

चितवनको सिमलतालस्थित भेलबाढीले दुइवटा बस बगाएर ६५ जना बेपत्ता भएको घटनामा अहिलेसम्म २३ जनाको शव भेटिएको छ। शुक्रबार बिहान १०ः५० बजेसम्मको अपटेड अनुसार कुल २३ जनाको शव फेला परेको थापाले जनाएका छन् ।

बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको उनले बताए। भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको हो। जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो।

अहिलेसम्म फेला परेको २३ वटा शवमध्ये जम्मा १४ वटा शवको सनाखत भएको छ । ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ। ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार ऋषिपाल साह, रमितकुशर माझी, जयप्रकाश ठाकुर, किशोरकुमार चौधरी (चालक), अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेक कुमार, जितेन्द्र राम महरा र अमृता कुमारीको सनाखत भएको हो।

त्यस्तै ०३–००६ ख १५१६ नम्बरको एन्जल बसमा सवार विकास परियार, सजाद अन्सारी, सुदिप विक, परमानन्द पण्डित र चन्द्र प्रभा कुमारीको सनाखत भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार