बझाङबाट काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेराको भ्यागुते खोलानजिक सडकमाथिबाट खसेको पहिरो बसमै परेको थियो ।
सबैभन्दा पछाडि रहेको उक्त यात्रु बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन सकेन । पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।
अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका–२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।
शुक्रबार बिहानसम्ममा दुइ ओटा बसका बेपत्ता ६५ जना यात्रुमध्ये २३ जनाको शव फेला परेका प्रहरीले जनाएको छ । २३ जनामध्ये बिहिबार १ र शुक्रबार गरि दुइ ओटा शव भारतमा फेला परेको हो ।
मनसुनको समय भएकाले खासगरी पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सुदूरपश्चिमी पहाडमा पनि पहिरोको उच्च जोखिम यथावत छ ।