Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

दोलखा भिमेश्वरको शिलामा पसिना, स्थानीयहरु चिन्तित


दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना आएको खबरले देश विदेशमा कौतुहलता पैदा भएको छ । भिमेश्वर मन्दिरको शिलामा पसिना आएपछि देशमा राजनीतिक या अन्य कुनै प्रकारको ठूलो उथलपुथल हुने जनविश्वास रहेका कारण अब के होला भन्ने कौतुहलता पैदा भएको हो ।

देशमा भएका ठूला राजनीतिक परिवर्तन र अन्य कुनै प्रकारका ठूला घटनापूर्व भिमेश्वर मन्दिरमा पसिना आएको इतिहास रहेको दोलखाका स्थानीयहरु बताउने गर्दछन् । स्थानीयहरुका अनुसार १९९० को भुकम्प, २००७ सालको क्रान्ति, २०४६ को राजनीतिक परिवर्तन, २०५९ को दरबार हत्याकाण्ड, २०६३ को राजनीतिक परिवर्तन अघि भिमेश्वर मन्दिरको शिलामा पसिना आएको थियो ।

शनिवार दिउँसो १ः४७ बाट शीलाको बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकिएको थियो । शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजनहरु भेला भएका थिए । उनीहरुले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शीलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट समेत शिलामा पूजासमेत गरिएको थियो । शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ ।

जनविश्वास अनुसार नै भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बाँया पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहदै आएको छ । शनिबार शीलाको बायाँपटीबाट पसिना आएका कारण जनतालाई असर गर्न सक्ने स्थानीय ज्यष्ठ नागरिकहरु बताउँछन् । तर, पसिना आउँदा नकारात्मक असर मात्रै गर्ने नभई सकारात्मक प्रभाव समेत पर्न सक्ने केहीको भनाई छ । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

शिलामा पसिना आएपछि पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्ने प्रचलन समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार