Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

त्रिशूलीमा अत्यधिक बहावः बेपत्ता बस र यात्रुको खोजीकार्य प्रभावित


त्रिशूलीको बहाव बढेका कारण बेपत्ता बस र यात्रुको खोजीकार्य प्रभावित भएको छ।

आइतबार बिहान नेपाली र भारतीय उद्धारटोलीले मोटरबोटबाट खोजीकार्य सुरू गरेका थिए। टोलीले १० मिनेटजति खोजीकार्य गरेपछि फर्किएको हो। पानीको वहाब बढ्दा मोटरबोट अस्थिर भएर खोजीकार्यमा समस्या भएपछि टोली फर्किएको हो।

‘मोटरबोट तैरिन बल गर्छ। नदीले बगाउन बल गर्छ । यसो हुँदा मोटरबोट स्थिर भएन। अस्थिर भएर पल्टिहाल्यो भने उत्रिन गाह्रो हुन्छ,’ एक उद्धारकर्ताले भने।

दस मिनेटको अवधिमा नदीमा पठाइएको सोनार क्यामेराले खिचेका संकेतहरू ल्यापटपमा रेकर्ड भएका छन्। टोलीले ल्यापटपमा रेकर्ड भएको हेरेपछि पुनः खोजीकार्य सुरू गर्ने बताएको छ।र्‍याफ्टिङ बोट तुलनात्मक रूपमा केही स्थिर र पल्टिहाल्दा पनि उत्रिन सक्छ।

अब बस खसेको भन्दा केही तलबाट खोजीकार्य सुरू गर्न लागिएको छ। यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा बिहान करिब साढे ३ बजे खसेको पहिरोमा परेका थिए । ती दुवै बस पहिरोसँगै त्रिशूली नदीमा खसेर वेपत्ता भएका थिए ।

दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडिएर सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । गत शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ । २५ जनामा १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार