नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले पुरुष निर्णय गर्ने ठाउँमा हाबी हुँदा महिलाहरूले कार्यकारी भूमिका पाउन नसकेको टिप्पणी गरेकी छिन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘‘३३ प्रतिशत महिना मन्त्रिपरिषद्मा कहिल्यै देख्न नपाइने भयो । सायद पुरुषहरू नै प्रमुखमा भएर होला । महिलाहरू मन्त्रीमा सिफारिस भएनन्,’ उनले भनिन् । ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो । म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’
उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् । ‘हामीलाई कहिले समान बनाउने हो ? संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो’, सांसद थिङले भनिन् ।