कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी बालिका निर्मला पन्तको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारमै उखुबारीमा फेला परेको थियो ।
घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समयसम्म आन्दोलन नै भयो । जसले थप जनधनको समेत क्षति हुन पुग्यो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सयभन्दा बढी व्यक्तिहरूमा अनुसन्धान ग¥यो । केहीलाई त थुनामै पनि राख्यो । तर, पनि सरकारले घटनामा संलग्न अपराधीलाई अझैसम्म पनि पत्ता लगाउन सकेको छैन ।
निर्मलाको परिवारले अब अपराधी पत्ता लाग्ला भन्ने आश नै मारिसकेका छन् । तर पनि अहिलेका गृहमन्त्री रमेश लेखक कञ्चनपुरको सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले निर्मलाको परिवारजनमा झिनो आशा पलाएको छ ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपश्चात सडकदेखि सदनसम्म तात्यो । दोषीलाई कारबाहीको माग राख्दै भएको आन्दोलनमा अर्का बालक सन्नी खुनाले पनि अकालमै ज्यान गुमाउनु परेको थियो । केही व्यक्ति घाइतेसमेत भए । तर अहिलेसम्म पनि अपराधी पत्ता नलाग्दा पीडित परिवारको न्याय नपाएको दुखेसो छ ।
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भइसक्दा समेत घटना अझै रहस्यमै रहेको छ । अझै वास्तविक अपराधी को भन्ने पत्ता लगाउन सकिएको छैन । घटनाबारे सूक्ष्म ढंगले विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।








