
गत असार १३ गते सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गम्भिर त्रुटि भएको भन्दै पूरक परीक्षापछि बोर्डको लापरवाहीबारे अध्ययन गरिने भएको छ ।
धेरै विद्यार्थीहरु फेल भएको, रि–टोटलिङ गर्दा ४ जिपिए ल्याएका विद्यार्थीहरुको पनि सुरुमा एनजी आएकोले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको भन्दै बोर्डको लापरवाहीबारे पूरक परीक्षापछि अध्ययन गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् ।
एक विषयमा मात्रै ‘एनजी’ आएको खण्डमा पनि नतिजामा ‘एनजी’ देखाउँछ । विस्तृतमा नतिजा हेर्दामात्रै कुनकुन विषयमा ‘एनजी’ आएको भनेर देखाउँछ । यस्तो हुँदा आतिएर पनि धेरै विद्यार्थीले आत्मा हत्या गरेका थिए । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा चित्त नबुझे पुनर्योग (रि–टोटलिङ) को व्यवस्था गरेको छ ।
पुनर्योगका लागि १८ हजार ६१२ जनाले आवेदन दिएकोमा ११ हजार ४२६ जनाको नतिजा पुनः हेर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । सार्वजनिक भएको पुनर्योगको नतिजा अनुसार हालसम ५.४३ प्रतिशत विद्यार्थीको नतिजा परिवर्तन भएको छ । जसमा एनजी आएका १० जना विद्यार्थीको पुनर्योगपछि चार जीपीए आएको छ । तर, राम्रो ग्रेड आएर पुनर्योग गराउँदा कम ग्रेड भने आएको देखिँदैन । कम जीपीए आएको १०५ जना विद्यार्थीको पुनर्योगपछि चार जीपीए आएको छ ।
नतिजामा त्रुटि हुनुमा विभिन्न फ्याक्टरले काम गर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को परीक्षा नियन्त्रकहरुको भनाइ छ । लामो प्रक्रिया भएकाले समस्या हुने गरेको परीक्षा नियन्त्रकहरुको भनाइ छ । पूरक परीक्षा नजिकिएकोले अब परीक्षापछि यसबारे गम्भिरताका साथ अध्ययन गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भट्टराईले बताएकी छिन् ।
यो विषयमा मन्त्रालय गम्भीरताका साथ लागिरहेको उनको भनाइ छ ।