सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार भएको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यसहितको ‘अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरेर अदम्य साहससहित कर्तव्य पालन गरेको’ भन्दै उनीहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुमा डीएसपीद्वय सुकदेव खनाल, टंक राउत र प्रहरी जवानहरु श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी रहेका छन् । उनीहरुलाई रेकर्डमा जोडिने गरी नगद पुरस्कारले पुरस्कृत गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उड्ने वित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । त्यसक्रममा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो ।
पाइलट शाक्यको केएमसी अस्पताल, सिनामंगलमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको केएमसी अस्पताल स्रोतले जनाएको छ ।