Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

वनको घरमा चल्यो डोजर


राजनीतिक संरक्षणमा वन अतिक्रमण गरेर व्यक्तिले बनाएको घर टहरा वन कार्यालयले भत्काएको छ । सिराहाको नरहा गाउँपालिका ३ जोवहा प्राकृतिक सामुदायिक वन क्षेत्रको दुई हेक्टर जमिन अतिक्रमण गरी बनाएको घर तथा टहराहरु डिभिजन वन कार्यालय लहानले शुक्रबार भत्काएको हो ।

राजनीतिक संरक्षणमा वर्षौदेखि वनको जग्गा अतिक्रमण गरेर मदिरा पसल सञ्चालन गर्दै आएका पाँच परिवारका पक्की तथा खरका घरहरू कानुनबमोजिम भत्काइएको डिभिजन वन कार्यालय सिराहाले जनाएको छ । कार्यालय स्रोेतका अनुसार वन कर्मचारी सामुदायिक वनका पदाधिकारी र अन्य सुरक्षाकर्मीको सहयोगमा घर खाली गराउने र डोजर लगाएर भत्काउने काम भएको छ ।

वन कार्यालयले पटक पटक जमिन खाली गराउन लिखित जानकारी गराउँदा पनि अटेरी गरेपछि शुक्रबार बल प्रयोग गरेर भत्काइएको जनाइएको छ । वन कार्यालयको मुख्य जिम्मेवारी नै वन संरक्षण गर्नु हो । सोही कार्य अनुसार आज अतिक्रमित जमिन खाली गराइएको बताइएको छ ।

वन समिति र वन कार्यालयले दशकौँ देखि जमिन खाली गराउने प्रयास गरेको भएपनि सकिरहेको थिएन । यो पटक वन कार्यालय, सामुदायिक वन, स्थानीय र प्रदेश सरकारको सक्रियतामा जमिन खाली गराइएको हो ।

मारुती सिमेन्ट उद्योग र सौर्या सिमेन्ट उद्योगले अतिक्रमण गरेको जमिनको विषयमा पनि प्रक्रिया अगाडि बढिरहेको डिभिजन वन कार्यालय स्रोतले जनाएकोे छ ।

सिराहामा २७ हजार ९ सय ७ हेक्टर वन क्षेत्र रहेको छ । हाल सिराहामा राजनीतिक संरक्षणमा ४ हजार हेक्टरभन्दा बढी जमिन अतिक्रमणमा परेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार