Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

निशुल्क छात्रवृत्ति परीक्षामा अरूको नामबाट परीक्षा दिने पाँचजना पक्राउ


निशुल्क छात्रवृत्ति परीक्षामा अरूको नामबाट सहभागी पाँचजना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रण्मा लिएको छ।

हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रमा सानोठिमी भक्तपुरद्धारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी चार जना र सिद्धार्थ माध्यमिक विद्यालयबाट परीक्षा दिँदै गरेका एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार भुटनदेवी स्कुलमा रौतहटका असाब आलमको ठाउँमा परीक्षा दिँदै गरेका नरेन्द्र महतो, चितवनको निमेश राय यादवको ठाउँमा परीक्षा दिएका रुपेश यादव, सिराहाका ललन कुमार यादवको ठाउँमा परीक्षा दिने सर्लाहीका राजीव कुमार राउत र सर्लाहीका सुनिल महतोको ठाउँमा परीक्षा दिने रौतहटका लालबाबु सहनीलाई नियन्त्रणमा लिइएको हो।

यस्तै, सिद्धार्थ माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बाराका राकेश कुमार ठाकुरको नाममा परीक्षा दिइरहेका धनुषाका रमेश यादव पनि समातिएका छन्। परीक्षा दिइरहेका उनीहरु परीक्षा निरीक्षकले चेकजाँच गर्दा नक्कली परीक्षार्थी भएको खुल्न आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार