Logo
६ माघ २०८२, मंगलवार
|  Tue Jan 20 2026

सिमलतालबाट निराश हुँदै फर्कियो भारतीय टोली


गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुईवटा यात्रु बसको खोजीमा नेपालमा रहेर आठ दिनदेखि खट्टिएका भारतीय टोली त्रिशूलीको धारिलो पानीसँग हार मान्दै रित्तो हात फर्किएको छ ।

सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीसँगै दुवै बस खोजीमा जुटेको भारतीय टोली ८ दिनको कोसिसमा पनि दुवै बस भेट्टाउन नसकेपछि आइतबार निराश हुँदै फर्किएको हो । उच्च प्रविधियुक्त उक्त भारतीय टोली घटनाको आठौं दिनमा साउन ५ गते घटनास्थल सिमलताल आइपुगेको थियो ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को यो टोलीले दुईवटा बससँगै बेपत्ता भएका कोही यात्रुसमेत फेला पार्न सकेन । दुर्घटनापछि त्रिशूलीमा डुबेका करिब ६५ जना यात्रुमध्ये २४ जनाको शव सिमलतालबाट ४० देखि ६० किलोमिटर दक्षिण नारायणी नदी र गण्डक ब्यारेज तथा बिहारको क्षेत्रमा भेटिएका हुन् ।

भारतीय टोली उच्च प्रविधियुक्त भए पनि त्रिशूलीमा आइरहेको निरन्तरको बाढीको उच्च करेन्टका कारण बस ठम्याउन असफल रह्यो । उल्टै शनिबार यो भारतीय टोलीले बसको खोजीमा प्रयोग गरिरहेको १९ केजी तौलको एउटा चुम्बक नै हरायो ।

भारतीय टोलीले ल्याएको उक्त चुम्बकलाई त्रिशूलीले शनिबार बगाएर बेपत्ता बनाएको हो। त्रिशूलीले बगाएको चुम्बक खोज्दै भारतीय टोली देवघाटसम्म पुगे पनि फेला पार्न सकेन । भारतीय टोलीको प्रयास असफल भएर फर्किएपछि अब सशस्त्र प्रहरी र नेपाली सेनासहितले फरक तरिकाले खोजीकार्यलाई निरन्तरता दिने भएका छन् ।

अब सरकारले खोजी पनि निरन्तर गर्दै मृतक र बेपत्ता व्यक्तिका परिवारलाई राहत पनि दिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार