वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी फोहोर गर्ने तीन वटा उद्योगलाई कारबाही स्वरूप उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ ।
नगर प्रहरीसहित सरसफाइको टोलीले ट्यक्टरमा फोहरमैला राखेर परवानीपुरको अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो । महानगरका एक नगर प्रहरीका अनुसार उद्योगको परिसरमा प्रतिकात्मक कारबाही स्वरूप फोहरमैला खसालिदिएको बताए ।
यसअघि देखि नै सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए । महानगरले गएको वैशाख ९ गते नदीमा फोहोरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए ।
आज पनि नदीमा फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको वीरगञ्ज महानगरपालिकाका महानगरीय प्रहरीहरुको भनाइ छ ।