Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

बासी खाना खुवाउने धादिङका एक होटललाई दुई लाख जरिवाना


ग्राहकलाई बासी खाना तथा सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ चारकिलोमा रहेको न्यू रीया होटललाई दुई लाख रुपैयाँ जरिवाना गराइएको छ ।

खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भनेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौजसमेत गरेको गुनासो छ ।  उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रिया होटललाई जरिवाना गरिएको जिल्ला अनुगमन समिति धादिङले जनाएको छ ।

जिल्ला अनुगमन समितिका अनुसार आइतवार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो ।

अनुगमनमासमेत कैफियत भेटिएको हो । होटलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई पक्राउ गरिएको थियो । जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवम् उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतमका अनुसार एक हप्ताभित्र तोकिएको जरिवाना तिर्ने गरी छाडिएको छ ।

जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले पछिल्लो समय होटल तथा पसलको अनुगमनमा कडाइ गरेको छ । यसअघि पनि तोकिएको मूल्यभन्दा बढी लिने होटल तथा पसललाई कालोबजारी गरेको कसुरमा रु एक लाखसम्म जरिवाना तिराइएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार