Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

बल्खु खोलाको बाढीले बगाउँदा एक युवाको मृत्यु


आज विहान ललितपुरको बल्खु खोलामा आएको बाढीमा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाण्डौको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा शव फेला परेको हो ।

मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । काठमाण्डौ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि बाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, गएराति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गएरातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ मा रहेको नेकपा (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।

डुबानमा परेका क्षेत्रमा उद्धारका लागि आज बिहान १ बजेदेखि प्रहरी परिचालन गरेर अहिलेसम्म ३ जना बालक, ८ जना महिला र १३ जना पुरूष गरी विभिन्न ठाउँबाट २४ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । यस्तै ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर ९ शङ्खमुल, वडा नम्बर १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ ।

महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ । बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय वटा कुखुरा मरेका छन् ।

पहिरोले बाग्मती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार