काठमाडौंको पशुपतिमा जारी कोटीहोम महायज्ञमा कथावाचन गर्न लण्डनदेखि आएकी कथावाचिका चन्द्रकला सखी को हुन् ? उनले कति पढेकी छिन् ? अनि के के पढेकी छिन् ? चन्द्रकला सखी कसको प्रेरणाले कथावाचनमा लागिन् ? उनी सानो छँदा के बन्न चाहन्थिन् ? तपाईँको मनमा यस्तै जिज्ञासा उब्जिएको हुन सक्छ ।
चन्द्रकला सखी ३ वर्षअघिमात्रै लण्डन पुगेकी थिइन् । उनी लण्डन जानुअघि अध्ययनका क्रममा भारतमा थिइन् भने त्यसअघि नेपालमा । उनको स्कुले पढाई अंग्रेजी स्कुलमा भएको हो । काठमाडौंको एलआरआई स्कुलमा १० कक्षासम्म पढेकी चन्द्रकलाले कक्षा ११ र १२ जावलाखेलको आइडल मोडल कलेजमा पढेकी हुन् ।
उनी ११, १२ कक्षामा साइन्सकी विद्यार्थी थिइन् । बायोलोजी साइन्स पढेकी चन्द्रकलाले त्यतिबेला जीवनमा आध्यात्मिक क्षेत्रमा यो तबरले लाग्छु भन्ने सोच्दै सोचेकी थिइनन् । हुन त साइन्स बायोलोजी गरिरहेको विद्यार्थीले त्यस्तो सोच्ने कुरा पनि भएन । बरु उनी आफ्ना बाबा आमाको सपना अनुसार डाक्टर बन्ने कल्पनामा थिइन् ।
उनका बुबा आमा चन्द्रकलालाई डाक्टर बनाउन चाहन्थे । तर, एकपटक आफ्नी फुपुसँग चन्द्रकला एउटा प्रवचनस्थलमा पुगिन् । जहाँ एकजना गुरुले साइन्ससँग जोडेर प्रवचन गरिरहेका रहेछन् । जुन कुराले उनलाई निकै छोयो । त्यहिदिनबाट उनको दिमाग यसरी परिवर्तन भयो कि मैले पढिरहेको साइन्स भन्दा मेरा हजुरबुबाले घरमा पढ्ने गरेको धर्मदर्शन धेरै महान रहेछ ।
उनलाई पूर्विय दर्शन राजमार्ग जस्तो र आफूले पढिरहेको साइन्स सानो गोरेटो जस्तो लाग्यो । त्यसपछि उनी प्लस टु पछिको अध्ययनका लागि भारतको बैंग्लोर गइन् । स्वामी विवेकानन्द युनिभर्सिटीमा उनले फरक प्रकारको साइन्स पढिन् । ब्याच्लर्स इन योगा साइन्स कन्सस्नेस एण्ड स्पिरियाचुलिटी उनको पढाईको विषय बन्यो । त्यही विषयमा ब्याच्लर्स सकेपछि उनी लण्डन हानिइन् ।
स्वामी विवेकानन्द विश्वविद्यालयमा पढ्दा पढ्दै उनी आध्यात्मिक क्षेत्रमा चुर्लुम्मै डुबिसकेकी थिइन् । पढाइका लागि लण्डन पुगेकी उनी त्यहाँका सत्संग र अन्य विभिन्न प्रवचनहरुमा जान थालिन् । जाँदाजाँदै उनी आफैं प्रवचन गर्ने तहमा पुगिन् ।
नेपाली बाहेक अंग्रेजी, हिन्दी र संस्कृत भाषामा राम्रो दख्खल बनाएकी चन्द्रकलाले क्यानेडा, अमेरिका, जर्मन, भारत लगाएतका विभिन्न देशमा प्रवचन गरिसकेकी छिन् । कतैे अंग्रेजीमा, कतै हिन्दीमा त कतै नेपाली भाषामा प्रवचन गर्ने चन्द्रकला एक अविवाहित कथावाचिका हुन् ।
कथावाचनका लागि नेपाल आएका बेला उनले सार्वजनिक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा विवाह लेखान्तको विषय भएपनि विवाह गरेको अवस्थामा नेपालीसँगै गर्ने बताएकी छिन् । आफ्नो प्रेरणाको स्रोत आफ्ना गुरुलाई बताउँने चन्द्रकला आफूलाई विदुषी ठान्दिनन् ।
प्रवचनका क्रममा पशुपति कोटीहोममा गोरुको मिठो भोजन मयुर भनेपछि ट्रोल बनेकी उनले त्यसलाई जिब्रो चिप्लिएको क्षण भनेकी छिन् । सुमधुर लयमा कथावाचन गर्ने चन्द्रकलाले कलिलो उमेरमै आध्यात्मिक क्षत्रमा जसरी फड्को हानेकी छिन् सामान्य कमी कमजोरी मात्रै सुधार गर्दै लगिन् भने उनको भविष्य निकै उज्जवल देखिन्छ ।