Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

आफू मरेर ३० यात्रु बचाउने बस चालक विकलाई सरकारले सम्मान गर्ने


रोड माथिबाट खसेको ढुंगाले लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा गत असार २८ गते पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको हो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकोे छ । ‘कस्तो सम्मान, कति राहत भन्ने कुरा पछि खुल्ला तर आफू मरेर बसका यात्रुलाई जोगाएकाले चालकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुका अनुसार ती चालकलाई विभूषणसहित सम्मान गर्ने प्रस्ताव कार्यकारी समितिमा पेस भएको थियो । बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए ।

उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनले चलाएको बसमा करिब ३० जना यात्रु थिए । उनीहरू सबै जोगिए । सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । दुईवटा बसमा ६५ यात्रु रहेकामा तीनजना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

नेपाल र भारतका गोताखोरसहितको टोलीले खोजी गर्दा २४ जनाको शव भेटिए पनि अन्य यात्रु र बसहरुको अवस्था हालसम्म अज्ञात छ ।


प्रतिक्रिया दिनुहोस !
विचार