Logo
१६ श्रावण २०८३, शनिबार
|  Sat Aug 1 2026

बाग्लुङमा अपत्यारिलो पहिरोः ६ जनाको मृत्यु, तीन जनालाई उपचारका लागि काठमाण्डौ ल्याइयो


बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा लगातार परेको पानीसँगै झरेको पहिरोले घरगोठ बगाउँदा हिजो गम्भीर घाइते भएका तीन जनालाई आज थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । घाइतेहरू ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीया संगीता बुढालाई उपचारका लागि काठमाण्डौ ल्याइएको हो ।

प्रतिकूल मौसमका कारण हिजो उनीहरूलाई उपचारका लागि अन्त लैजान सक्ने अवस्था नभएपछि आज नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । हिजो बडीगाड–१० आरुपाटामा घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै बडीगाड–९ मा दुई जना गरी ८ जनाको ज्यान गएको थियो । पहिरोमा ९ जना घाइते भएका छन् । घाइतेमध्ये अरूलाई थप उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । त्यस्तै ओमप्रसाद पुन, सिर्जना विक, मंगलसेन बुढा, सुमित्रा विक, सशीराम विक र ज्ञाने बुढाको बुर्तिबाङमा उपचार भइरहेको छ ।

पहिरोमा हराइरहेका चार जनाको खोजी भइरहेको छ । पहिरोका कारण झन्डै ५० घरधुरी विस्थापित भएका छन् ।

उनीहरूलाई पनि खाने, बस्ने र सुरक्षित पानीको अभाव भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार