बिहीबार राती भ्वाङ परेको काठमाडौं महानगरपालिकाको कार्यालय, काठमाडौं प्लाजा सँगैको सडक सोमबारबाट मात्रै मर्मत सम्भारको काम सुरु गरिने भएको छ । लगातार परेको झरीका कारण टुकुचा खोला छोपेर बनाइएको दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक बिहीबार राति ठूलो भ्वाङ परेको थियो ।
ठूलो भ्वाङ परेपछि आवागमन नै बन्द भएको उक्त सडक सोमबारदेखि मात्रै बनाउँन सुरु गरिने सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । सडक भ्वाङ परेर आवागमननै बन्द भएपछि स्थानियहरुले अझै भ्वाङ पर्न सक्ने भन्दै छिटो मर्मत सम्भार नगरे थप जोखिम बढ्ने बताएका छन् । राजधानी मै सडक भ्वाङ परेर आवागमन नै बन्द हुँदा समेत ममर्त सम्भारमा ढिलाइ भएको भन्दै स्थानियहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।
अहिले उक्त सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । टुकुचा खोलाको कल्भर्ट जीर्ण भई खाल्डो बनेको सडक डिभिजन, काठमाडौंका एक सबइन्जिनियरले बताए ।
लगातार पानी परे भ्वाङ अझ बढ्न सक्ने उनको भनाइ छ । ‘खोलाको कल्भर्ट पुरानो इँटाको थियो । पानीले गर्दा इँटा जीर्ण बन्दै गयो । बिस्तारै सडकको गिट्टी, बालुवालगायत सामग्री बगाउँदा इँटा ‘ड्यामेज’ भएको देखिन्छ,’ उनले भने, ‘अहिले खाल्डोको गहिराइ करिब ५ मिटर छ । त्यसको चौडाइ ४ मिटर छ । अझ पानी पर्दै गए क्षेत्र बढ्दै जाने र सडक पनि बगाएर लैजान सक्छ ।’
टुकुचा खोलाको कल्भर्ट बनाउँदा प्रयोग गरिएको इँटा कति वर्ष पुरानो हो भन्ने स्पष्ट जानकारी सडक डिभिजनलाई छैन । ‘सुन्नमा सय वर्ष पुरानो भन्ने आएको छ । हामीलाई पनि कति वर्ष पुरानो इँटाले बनेको कल्भर्ट हो भन्ने स्पष्ट छैन,’ उनले भने । अब आरसीसी फलामे डन्डी राखेर बक्स कल्भर्ट बनाउने सडक डिभिजनको योजना छ ।
ठूला खोलामाथि पुल बनाउने गरिए पनि टुकुचा सानो भएकाले बक्स कल्भर्ट बनाउने योजना बनाइएको उनको भनाइ छ । काठमाडौं महानगरले भने आफ्नो क्षेत्रभित्र पर्ने टुकुचा खोलामाथि पुल बनाएर पानी बग्न दिएको छ । कमलादी हुँदै बग्ने टुकुचा खोलामाथिको सडकको कालोपत्र बगेर बिहीबार साँझ ठूलो भ्वाङ परेको थियो ।
भ्वाङ तलबाट भने टुकुचा बगिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सडक भ्वाङ परेपछि बाटो डाइभर्सन गर्ने क्रममा एक जना प्रहरी निरीक्षक घाइते समेत भएको प्रहरीले जनाएको छ । उनको उपचार भइरहेको छ ।
सडक डिभिजनको स्वामित्वमा रहेको उक्त सडकको निर्माण पनि डिभिजनले नै गर्ने जनाइएको छ । आइतबार कागजी प्रक्रिया पूरा गरेर सोमबारबाट बाटो बनाउने काम थालिने सडक डिभिजन, काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले जनाए ।
भ्वाङ परेको बाटो बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग मौखिक मात्र कुरा भइरहेकाले आइतबार भने रकम निकासीका लागि कागजी प्रक्रिया पूरा गरिने उनको भनाइ छ । ‘नयाँ बन्ने बाटोको नक्सा तयार गरिसकिएको र लागत हिसाब गरी आइतबारसम्म पैसा निकासा गरेर सोमबार बिहानैदेखि बनाउँन सुरु गरिने जोशीको भनाइ छ ।
सर्वसाधारणलाई असुविधा हुने भएकाले सडक छिटो पुनर्निर्माण गरिनुपर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरको भनाइ छ । महानगरका प्रमुख बालेन्द्र शाहले भने टुकुचा खोलामाथि बनेको बाटो भत्किएपछि सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।
‘यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचामाथि रहेका छन् । काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुला गर्न टुकुचा खोल्ने काम सुरु गरेका थियौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘अदालती कारणले केही रोकिनु परेको थियो ।
अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्तिविशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुनबमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौं । सरकारले चाँडोभन्दा चाँडो लगत कट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ ।
यसपश्चात् खोला खोल्ने काम महानगरले तुरुन्त अगाडि बढाउनेछ ।’ खोलामाथि बाटो र घर नभई आवश्यकताअनुसार पुल बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।