केटीहरूको बिहे गर्ने कानुनी उमेर घटाएर ९ वर्षमा झार्ने भएको छ । १८ वर्षबाट घटाएर बिवाह गर्ने उमेर हद ९ वर्षमा झार्ने भएको हो । ९ वर्षमा विवाह गर्न उपयुक्त उमेर हद बनाउनका लागि प्रस्तावित विधेयक पेस गरिएको जनाइएको छ । केटीहरुको विवाह गर्ने उमेर १८ वर्षबाट घटाएर ९ वर्षामा झार्न लागिएको भने इराकमा हो ।
त्यहाँको संसदमा केटीको बिहे गर्ने कानुनी उमेर घटाउने प्रस्तावित विधेयक पेस गरिएको इराकी समाचार माध्यमहरुमा उल्लेख छ । अहिले यो उमेर १८ वर्ष छ । यो संशोधन विधेयक पारित भयो भने कानुनले केटीलाई ९ वर्ष र केटालाई १५ वर्षकै उमेरमा बिहे गर्न अनुमति दिनेछ । यसले बाल विवाह र शोषणको चिन्ता बढाएको इराकी मिडियाहरुले समाचार छापेको छ ।
इराकको कानून मन्त्रालयले संसदमा पेश गरेको कानूनमा विवाहका लागि धार्मिक कानून वा फौजदारी कानूनमध्ये एक रोज्ने अधिकार दिइएको इराकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । यसले महिलाको अधिकार र लैङ्गिक सवालमा भइरहेको प्रगतिलाई उल्ट्याउने तर्क आलोचकहरूले गरिरहेका छन् ।
मानव अधिकारवादी संघसंस्था, महिला अधिकार समूह र नागरिक समाजका अभियन्ताहरूले यो विधेयकको कडा आलोचना गरिरहेका छन् । यसले बालिकाहरूको शिक्षा, स्वास्थ्य र समृद्धिमा नकारात्मक असर गर्ने, विद्यालयको पढाई बिचमै छाड्नेको सङ्ख्या बढाउने र सानो उमेरमै गर्भधारण गर्ने किशोरीको सङ्ख्या बढाउने र घरेलु हिंसाका घटनाहरू पनि बढ्ने चेतावनी उनीहरूले दिइरहेका छन् । इराकमा अहिले नै २८ प्रतिशत केटीहरूले १८ वर्ष नपुग्दै बिहे गर्ने गरेको युनिसेफले बताएको छ ।
नेपालमा पनि बिवाह गर्ने उमेर २० लाई घटाएर १६ वर्षमा झार्नुपर्ने माग बारम्बार नउठेको भने होइन । महिलाको विवाह गर्ने उमेर हद २० वर्ष राख्दा बिहेको उमेरसम्बन्धी अहिलेको प्रावधानले अपराध बढाएको भन्दै २० लाई घटाएर १६ मा झार्नुपर्ने भन्दै केहि राजनीतिक दलका नेताहरुले माग समेत गरिरहेका छन् । केहि समय अगाडी छोरीको विवाह १६ वर्षमै गरिदिन पाउनुपर्ने मागसहित बाँकेका मधेशी मूलका महिलाहरूले आन्दोलन समेत गरेका थिए ।
त्यसरी माग राख्ने केही महिलाहरूले बाँकेका विभिन्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका र विभिन्न वडामा मागपत्र समेत बुझाएका थिए । २० वर्ष पुगेपछि विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेल नखाने भन्दै कानुनमा परिवर्तन गर्नुपर्ने उनीहरुको माग रहेको थियो ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार भने २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन मिल्दैन । “विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन,“ ऐनमा उल्लेख गरिएको छ। ऐनमा उल्लिखित प्रावधानविपरीत भएको विवाह स्वतः बदर हुने भनिएको छ।
त्यसबमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने ऐनमा व्यवस्था छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ कार्यान्वयनमा आउनुअघि बिहे गर्न पाउने न्यूनतम उमेर महिलाको हकमा १८ र पुरुषको हकमा २० वर्ष थियो।